विराटनगर 

 सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले २ लाख ३१ हजार १ सय ७० रुपैयाँ नगद र एक बुक तास बरामद गरेको छ।

प्रहरीका अनुसार मंगलबार बिहान १ः१५ बजेतिर इटहरी–१७ स्थित शेलिस शेर्पाको घरमा तास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएको थियो। टोलीले घरमा तास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, रामधुनी–५ का ४७ वर्षीय गौरीशंकर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन्।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार श्रेष्ठको साथबाट १ लाख ४८ हजार ८ सय रुपैयाँ, धामीको साथबाट ७८ हजार ५ सय रुपैयाँ, कार्कीको साथबाट ३ हजार ५ सय रुपैयाँ र लुइँटेलको साथबाट ३ सय ७० रुपैयाँ बरामद भएको छ। विकको साथबाट भने रकम बरामद नभएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ। उनीहरूमाथि इन्स्पेक्टर सञ्जीव ओलीको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।