झापाको बिर्तामोड ४ स्थित कञ्चनजङ्घा इङ्लिस सेकेन्डरी स्कुलमा अध्ययनरत प्रकृति दाहालले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) को परीक्षामा विश्वमै तेस्रो स्थान हासिल गर्न सफल भएकी छन् ।

दाहालले सन् २०२६ जुनमा सञ्चालित एसीसीएको फाइनान्सियल रिपोर्टिङ (एफआर) विषयको परीक्षामा विश्वस्तरमै तेस्रो स्थान हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् ।
यस सफलताको कदर गर्दै नगद १८ हजार ५०० रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।
आज सोमबार बिर्तामाेड स्थित होटल किङ्सबरीमा आयोजित एक कार्यक्रमका बीच दाहाललाई सम्मान गरिएको हो।
कार्यक्रममा कञ्चनजङ्घा इङ्लिस सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल डा. केशवराज न्यौपाने र शिक्षा एकेडेमीका डाइरेक्टर सिए दिपक कायस्थले सम्मानपत्र प्रदान गरेका थिए।
सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने बेस्ट पर्फर्मरहरू सन्ध्या उप्रेती , सुमन तिम्सिना , आयुस्मा आचार्य, बिपिका खरेललाई समेत सम्मान गरिएको थियो।
अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक परीक्षामा दाहालले हासिल गरेको सफलताले विद्यालय, अभिभावक तथा झापाको शैक्षिक क्षेत्रमा गौरव थपेको स्कुलका संस्थापक प्रिन्सिपल न्याैपानेले बताए ।
यो उपलब्धिले नेपालका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक लेखा (ACCA) परीक्षामा पनि उत्कृष्ट क्षमता र दक्षता प्रदर्शन गरिरहेको पुष्टि हुन्छ ।







































