झापा । झापाको कनकाई नगरपालिका–सुरुङ्गामा पावरलिफ्टिङ खेललाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित पहिलोपटक ऐतिहासिक कनकाई पावरलिफ्टिङ प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । आगामी मंसिर १२ गते शनिबार हुने प्रतियोगितामा महिला तथा पुरुष गरी २०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

923846743_3578952105607576_5663925444440314209_n

स्थानीयस्तरमा पावरलिफ्टिङ खेलको पहिचान स्थापित गर्ने र नयाँ प्रतिभालाई राष्ट्रियस्तरको प्रतिस्पर्धासम्म पुर्‍याउने लक्ष्यसहित न्यु गोल्ड जिम हाउस एण्ड जुम्बा सेन्टरले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिन सुरुङ्गस्थित युनिक क्याफेमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष तथा सेन्टरका सञ्चालक सुमन श्रेष्ठले प्रतियोगितालाई कनकाई र समग्र झापा जिल्लाकै गौरवसँग जोडिएको बताए ।

‘यो प्रतियोगिता मात्र होइन, कनकाईसँगै झापा जिल्लाकै शान हो,’ श्रेष्ठले भने, ‘यस ऐतिहासिक अवसरमा खेलप्रेमी सबैलाई प्रतियोगिता अवलोकन गर्न आग्रह गर्दछु ।’

आयोजक समितिका सचिव सुजन समाल मगरले पावरलिफ्टिङ खेलप्रति युवाको आकर्षण बढाउने, नयाँ खेलाडी उत्पादन गर्ने र युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्दै कुलतबाट टाढा राख्ने उद्देश्य प्रतियोगिताको रहेको बताए ।

तीन विधामा शक्ति परीक्षण, पुरस्कारमा आकर्षण

प्रतियोगितामा खेलाडीले स्क्वाट, बेन्च प्रेस र डेडलिफ्ट गरी तीन विधामा आफ्नो शारीरिक शक्ति र क्षमता प्रदर्शन गर्नेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री, राष्ट्रिय प्रशिक्षक एवम् प्रतियोगिताका मुख्य निर्णायक भक्तराज श्रेष्ठले पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक नियम र खेल सञ्चालन प्रक्रियाबारे जानकारी गराएका थिए ।

प्रतियोगितामा महिलातर्फ एउटै विधा तथा पुरुषतर्फ चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ८ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पुरुषतर्फ ६०, ७० र ८० केजीमुनि तथा ८० केजीमाथिका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहका विजेताले ६ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, सबै तौल समूहको प्रदर्शनका आधारमा हुने ओभरअल प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले ४० हजार, द्वितीयले २५ हजार र तृतीयले ११ हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । यसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

८ लाख ८० हजारभन्दा बढी खर्च हुने अनुमान

कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न ८ लाख ८० हजार रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि कनकाई नगरपालिका, वडा कार्यालय, स्थानीय सामुदायिक वन समूह, विभिन्न जिम हाउस, डेभिल इनर्जी ड्रिङ्क्स कम्पनी, कनकाई पानीलगायत संघसंस्था तथा खेलप्रेमीले सहयोग गरेका छन् ।

स्थानीयस्तरमा सीमित रहेको पावरलिफ्टिङ खेललाई संस्थागत रूपमा अघि बढाउन र झापाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने आधार तयार पार्न प्रतियोगिता महत्त्वपूर्ण अवसर बन्न सक्ने आयोजकको विश्वास छ ।