झापा । लागूऔषध नियन्त्रण, अवैध तस्करी नियन्त्रण तथा अपराध अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी नायब निरीक्षक सुवास दुंगानालाई २०८३ साल कात्तिक महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

इलाका प्रहरी कार्यालय झापा कुमरखोद मा कार्यरत दुंगानाले विभागीय नीति तथा निर्देशनअनुसार उच्च मनोबल, साहस र इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक ११ गते झापा गाउँपालिका–१ सालमारामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टासँगको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

बिआर एए ५३८०  नम्बरको भारतीय मोटरसाइकल तथा मे ७ प ३ नम्बरको मोटरसाइकलमा सवार नसिम अख्तर मियाँ र सलमान मियाँलाई शङ्काका आधारमा जाँच गर्दा उनीहरूको साथबाट १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको थियो ।

त्यस्तै, कात्तिक २५ गते झापा गाउँपालिका–४ बेलायतीबारीबाट अवैध रूपमा बोरामा लुकाइछिपाइ ल्याउँदै गरिएको किङ कोब्रा नामको पटाका १३ बन्डल ९६५० प्याकेट० बरामद गरिएको थियो । उक्त पटाकाको अनुमानित मूल्य ३९ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, कात्तिक २६ गते झापा गाउँपालिका–२ कुवाडीस्थित क्षेत्रबाट विभिन्न किसिमका पटाका दुई बोरा बरामद गरिएको थियो । उक्त पटाकाको अनुमानित मूल्य एक लाख रुपैयाँ रहेको र स्थानीय बासिन्दासमेतको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

WhatsApp Image 2026-11-24 at 20.47.57

त्यसैगरी, कात्तिक २८ गते झापा गाउँपालिका–५ खादाबस्तीमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बू र वडा नं। २ का २७ वर्षीय कृष्णप्रसाद खरेललाई नियन्त्रणमा लिइएको थियो । मोटरसाइकलको लाइटभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा १६ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको थियो ।

लागूऔषध ओसारपसारमा संलग्न शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउने, अवैध भन्सार चोरी तथा तस्करी नियन्त्रण गर्ने र लागूऔषध तथा विस्फोटकजन्य पटाका नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेकाले डुंगानालाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुधारा खड्काद्वारा जारी प्रशंसापत्रमा डुंगानाले उच्च मूल्याङ्कनयोग्य कार्यसम्पादन गरेको उल्लेख गर्दै उनलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मानले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।