झापाको बिर्तामोडमा होटलको आवरणमा गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक युवतीसहित तीन जना पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका–१ स्थित अधुवा खोलानजिकै रहेको झरना होटल एण्ड लजमा प्रहरीले शुक्रबार राति साढे १० बजेको समयमा बालबालिकालाई गैरकानुनी कार्यक्रमा प्रयोग गरिएको भन्ने गोप्य सुचनाको आधारमा छापा मारेको इप्रका अनारमनीका डिएसपी सन्तोष पाठकले जानकारी दिए । उनले पश्चिम बस स्टेण्ड आसपासका क्षेत्रमा रहेका केहि होटलमा यौनजन्य गतिविधि तथा गौरकानुनी क्रियाकलाप भइरहेको सुचना पाएसंगै निगरानी बढाइएको उनले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक हिमाल शमशेर राईको नेतृत्वमा खटिएको टोलीले होटल जाँच गर्ने क्रममा सञ्चालकसहित तीन जनालाई शंकास्पद अवस्थामा फेला पारेको हो ।
पक्राउ पर्नेमा होटल सञ्चालक बिर्तामोड–२ का ३५ वर्षीय खगेन्द्र खड्का, इलामको फाकफोकथुम गाउँपालिका–१ का २३ वर्षीय सुजन थापा र भारतको खर्साङकी २२ वर्षीया प्रास्ना क्षेत्री रहेका छन् । पक्राउ परेकी महिला लागु औषध सेवकर्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले तीनै जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको जनाएको छ । बिर्तामोडका विभिन्न होटल तथा लजमा प्रहरी कर्मचारीहरुकै आवरण र संरक्षणमा गैरकानुनी गतिविधि हुने गरेको चर्चा उठ्दै आएको छ ।










































