बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ९सहारा नेपाल साकोस० को ३०औँ वार्षिक साधारणसभा आगामी मंसिर २६ गतेदेखि सञ्चालन हुने भएको छ ।

संस्थाको सञ्चालक समितिको निर्णयअनुसार मंसिर २६ देखि पुस ६ गतेसम्म सातवटा इकाइ र ८३ वटा उपइकाइमार्फत साधारणसभा आयोजना गर्न लागिएको हो । सदस्यहरूको सहज सहभागिता र पहुँचलाई ध्यानमा राख्दै संस्थाले आफ्नो कार्यक्षेत्रलाई सात इकाइमा विभाजन गरी प्रत्येक इकाइलाई विभिन्न उपइकाइमा व्यवस्थित गरेको जनाएको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सबै सदस्यले आफूलाई पायक पर्ने सेवा केन्द्रअन्तर्गतको उपइकाइमा सहभागी भएर साधारणसभामा आफ्ना धारणा तथा सुझाव राख्न सक्नेछन् ।

साधारणसभामा आर्थिक वर्ष २०८२ र ०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरी पारित गर्ने प्रस्ताव छ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३ र ०८४ को नीति, कार्यक्रम तथा बजेट स्वीकृति, लेखा सुपरिवेक्षण समिति र ऋण उपसमितिको प्रतिवेदन अनुमोदन, सेयर लाभांश, संरक्षित पुँजी कोष तथा कर्मचारी बोनस वितरणका विषयमा निर्णय गरिनेछ ।

सभामा लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सेवा केन्द्रहरूको डिजाइन, ब्रान्डिङ, आन्तरिक सजावट र निर्माण खर्च अनुमोदन, विनियम संशोधन, ऋण लगानी स्वीकृति तथा बैंक खाता सञ्चालनसम्बन्धी प्रस्तावसमेत पेस हुनेछन् । यसका अतिरिक्त तालिम केन्द्र भवन निर्माण, ब्याज छुट तथा सम्पत्ति बिक्रीलगायतका विषयलाई पनि साधारणसभाको कार्यसूचीमा समावेश गरिएको छ ।

संस्थाले साधारणसभासम्बन्धी प्रतिवेदन मंसिर २३ गते सार्वजनिक गरी सोही दिनदेखि सदस्यहरूलाई वितरण गर्ने तयारी गरेको छ । प्रतिवेदन संस्थाका सबै सेवा केन्द्रबाट प्राप्त गर्न सकिनेछ भने वेबसाइट र फेसबुक पेजमार्फत पनि उपलब्ध गराइनेछ । प्रतिवेदनमाथि सदस्यका कुनै सुझाव वा धारणा भए पुस ७ गतेभित्र आफूलाई पायक पर्ने सेवा केन्द्रमा लिखित रूपमा बुझाउन सकिने व्यवस्था गरिएको छ । संस्थाको इमेलमार्फत पनि सुझाव पठाउन सकिनेछ ।

इकाइगत साधारणसभा तालिका

निर्धारित कार्यतालिकाअनुसार इकाइ नम्बर १ को साधारणसभा मंसिर २६ गते हुनेछ । यस इकाइमा बिर्तामोड, बिर्ताबजार, चन्द्रगढी, ज्ञानेचोक, बनियानी, पथरिया, ढडुवा, गोलधाप, राजगढ र कुमरखोद सेवा केन्द्रअन्तर्गतका सदस्य सहभागी हुनेछन् ।

इकाइ नम्बर २ को सभा मंसिर २८ गते चारपाने, सुरुंगा, गौरीगञ्ज, गौरादह, दमक, चुलाचुली, केरखा, दुधे, शिवगञ्ज र कुञ्जिबारी सेवा केन्द्रका सदस्यका लागि आयोजना हुनेछ ।

इकाइ नम्बर ३ को सभा पुस १ गते मंगलवारे, पथरी, अमरदह, विराटचोक, तेतरिया, बाहुनी, रमाइलो, लेटाङ, बेलबारी, केराबारी, उर्लाबारी, भौडाहा र मधुमल्ला सेवा केन्द्रका सदस्यका लागि हुनेछ ।

त्यस्तै, इकाइ नम्बर ४ को सभा पुस २ गते बिर्तामोड, सुरुंगा, लक्ष्मीपुर, घैलाडुब्बा, दुर्गापुर, बुट्टाबारी, चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा र बौद्धमोड सेवा केन्द्रका सदस्यका लागि सञ्चालन हुनेछ ।

इकाइ नम्बर ५ को सभा पुस ३ गते बलिया, खनार, भमरी, चिमडी, हरिनगरा, देवानगञ्ज, सिजुवा, रंगेली, कर्सिया, कटहरी, पुष्पलालचोक, विराटनगर र बासबारी सेवा केन्द्रअन्तर्गतका सदस्यको सहभागितामा हुनेछ ।

इकाइ नम्बर ६ को सभा पुस ४ गते चारपाने, धरान, तरहरा, इनरुवा, लौकही, झुम्का, चक्रघट्टी, कालाबञ्जार, रामपुर, बेल्टार, गाईघाट, नेपालटार र कटारी सेवा केन्द्रका सदस्यका लागि आयोजना गरिनेछ ।

यसैगरी, इकाइ नम्बर ७ को सभा पुस ६ गते खुदुनाबारी, शनिश्चरे, दानाबारी, बुधबारे, फिक्कल, नयाँबजार, इलाम, मंगलवारे इलाम, राँके, फिदिम, याशोक, थर्पु र रवि सेवा केन्द्रका सदस्यका लागि हुनेछ ।

संस्थाका अनुसार सबै उपइकाइगत साधारणसभामा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको सहभागिता रहनेछ । प्रत्येक उपइकाइको सभा बिहान ११ बजे सुरु हुनेछ । उपइकाइको माइन्युट प्रमाणित गर्ने प्रयोजनका लागि ११ जना प्रतिनिधि चयन गरिनेछ ।

अन्तिम माइन्युट प्रमाणित गर्न पाँचथरबाट एक, उदयपुरबाट एक, इलामबाट दुई, सुनसरीबाट तीन, मोरङबाट पाँच र झापाबाट सात गरी १९ जना प्रतिनिधि चयन गरिने संस्थाले जनाएको छ । चयन भएका प्रतिनिधिको बैठक पुस ११ गते शनिबार बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालयमा बस्नेछ । सोही दिन दिउँसो १ बजेदेखि अन्तिम माइन्युट प्रमाणित गर्ने कार्यक्रम तय गरिएको संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।


Ad2-Copy-2-912x1024




Ad2-Copy-1101x1536