बिर्तामोड । नेपाली आधुनिक संगीतका अमर साधक स्वरसम्राट नारायण गोपालको सांगीतिक विरासतलाई पुनः स्मरण गर्दै झापामा ‘नारायण गोपाल स्मृति साँझ’ आयोजना हुने भएको छ।
नारायण गोपालको ३६औँ स्मृति दिवसको अवसर पारेर आगामी मङ्सिर १९ गते बिर्तामोडस्थित लिटल फ्लावर स्कुलको सभाहलमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
स्मृति साँझमा राष्ट्रियस्तरमा ख्याति कमाएका गायक राज सिग्देलले विशेष सांगीतिक प्रस्तुति दिनेछन्। उनको प्रस्तुतिसँगै झापाका स्थानीय कलाकारहरूले पनि आफ्ना गीतसंगीतमार्फत कार्यक्रमलाई संगीतमय बनाउनेछन्।
नारायण गोपाल स्मृति प्रतिष्ठान झापाका अध्यक्ष राजकुमार पोखरेलले कार्यक्रमको तयारी भइरहेको जानकारी दिए।
नेपाली संगीतका अमर सर्जक नारायण गोपालका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
उनका गीतसंगीतलाई नयाँ पुस्तासम्म पुर्याउने, नेपाली आधुनिक संगीतको मौलिकता जोगाउने र सांगीतिक योगदानको सम्मान गर्ने उद्देश्यले स्मृति साँझ आयोजना गर्न लागिएको प्रतिष्ठानकी सचिव भीमा शिवाकोटीले बताइन्।










































