झापा । झापामा खुला सीमाको फाइदा उठाउँदै ठूलो परिमाणमा अवैध सामान ओसारपसार भइरहेको घटनाक्रमले देखाएको छ। सशस्त्र प्रहरी बलले झापा र इलामको सिमानामा पर्ने मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलबाट १ करोड १६ लाख ४० हजार रुपैयाँ बराबरको फर्सीको बियाँ बरामद गरेको छ।
२०८३ मंसिर १२ गते सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेडक्वार्टर झापाबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो।
उक्त बियाँको तौल १९ हजार ४०० केजी रहेको सशस्त्र प्रहरीले जनाएको छ। बिओपी बाहुण्डाँगीबाट खटिएको मोबाइल गस्ती टोलीले दिएको सूचनाका आधारमा गणबाट थप टोली परिचालन गरिएको थियो।
बरामद गरिएको फर्सीको बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टाको भण्डारण गृहमा राखिएको छ। अहिले सम्बन्धित निकायलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
काँकडभिट्टाभन्दा माथिल्लो क्षेत्र तिरिङ आसपासबाट ठूलो परिमाणमा फर्सीको बियाँ बरामद हुनुले सीमावर्ती क्षेत्रमा भइरहेको अवैध ओसारपसारमाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीयस्तरमा यसलाई तस्करीको सेटिङ नमिलेपछि बरामद भएको हुन सक्ने आशङ्का व्यक्त गरिएको छ। यद्यपि, उक्त आशङ्काको स्वतन्त्र पुष्टि भएको छैन।
झापामा खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी भइरहेको विषय पटकपटक उठ्दै आए पनि प्रहरी प्रशासनले सीमामा अवैध गतिविधि नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ।
तर, पछिल्लो समय भालुखोपबाट भएको यो बरामद र यसअघि भद्रपुर क्षेत्रबाट समेत ठूलो परिमाणमा फर्सीको बियाँ बरामद भएको घटनाले सुरक्षा निगरानी र सीमा नियन्त्रणको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।










































