मेचीनगर । प्रथम माउन्ट एभरेष्ट कराते च्याम्पियनसिप–२०२६ को मिति परिवर्तन गरिएको छ। यसअघि असोज १७ र १८ गते सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता अब कार्तिक १४ र १५ गते सञ्चालन हुने आयोजकले जनाएको छ।
नजिकिँदै गरेको विद्यार्थीको परीक्षा, देशका विभिन्न क्षेत्रमा गएको बाढी तथा प्राविधिक कारणले प्रतियोगिताको मिति सारिएको आज आयाेजित पत्रकार भेटघाटमा आयोजक समितिका संयोजक तथा नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईंले जानकारी दिए।
नेपाल र भारतका गरी ६ सयभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिता मेचीनगर स्पोर्ट्स कराते एकेडेमी, राइजिङ सन कराते एकेडेमी र एमएटी एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा हुन लागेको हो।
प्रतियोगितामा पुरुषतर्फ २० देखि ६७ केजी तौल समूहका १२ तथा महिलातर्फ २० देखि ६५ केजी तौल समूहका १० समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल, दोस्रो हुनेले १५ हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। उत्कृष्ट महिला तथा पुरुष खेलाडी र उदयमान खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको तयारी र व्यवस्थापनबारे मेचीनगर स्पोर्ट्स कराते एकेडेमीका सचिव मदन भण्डारी र उपाध्यक्ष सञ्जित मोहलीले जानकारी दिएका छन्।










































