बिर्तामोड । डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै पुस्तक पढ्ने बानी घट्दै गएको बहस भइरहेका बेला झापाको बिर्तामोडमा पठन संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले ‘किताब मेला २०८३’ आयोजना हुने भएको छ।

इशा बुक सेन्टर बिर्तामोड, झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्च बिर्तामोडको संयुक्त आयोजनामा असोज १६ गतेदेखि ३० गतेसम्म किताब मेला सञ्चालन गर्न लागिएको हो। आयोजकले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारीबारे जानकारी दिएको हो।

मेलाका संयोजक केशवप्रसाद मैनालीका अनुसार मेलामा साहित्य, शिक्षा, दर्शन, इतिहासलगायत विभिन्न विधाका ५ हजारभन्दा बढी पुस्तक उपलब्ध हुनेछन्। पाठकको उमेर तथा रुचिअनुसारका पुस्तकमा १० देखि ३० प्रतिशतसम्म छुट उपलब्ध गराइने उनले बताए।

किताब बिक्रीमा मात्र सीमित नरहने मेलामा लेखकसँग प्रत्यक्ष संवाद, कविता तथा गजल वाचन र लक्की ड्रलगायतका साहित्यिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिनेछ। आयोजकका अनुसार मेलाको उद्देश्य पुस्तकप्रति पाठकको रुचि बढाउनुका साथै लेखक, पाठक र साहित्यिक क्षेत्रबीचको सम्बन्धलाई थप नजिक बनाउनु हो।

मेलाका सहयोगी संस्थाका रूपमा बिर्तामोड रिडर्स क्लब र सुरूवाती काेठा नेपाल  रहेको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा साहित्यकार तथा सञ्चारकर्मी लीला अनमोल, पत्रकार गोपाल काफ्ले, कृष्ण मिश्र, दुर्गाप्रसाद सिग्देल र धमेन्द्र भट्टराई ‘मामा’ लगायतले किताब मेलालाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए।

कार्यक्रमको सञ्चालन पत्रकार भरत प्रसाईंले गरेका थिए। आयोजकले बिर्तामोडमा आयोजना हुँदै आएको किताब मेलाको चौथो संस्करणलाई पुस्तकप्रेमी, विद्यार्थी, अभिभावक तथा साहित्यप्रति रुचि राख्ने सबैका लागि उपयोगी बनाउने जनाएको छ।