सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ। लगातारको वर्षाका कारण जलस्तर बढ्दै गएपछि ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ।

शुक्रबार दिउँसो ४ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज हुँदै प्रतिसेकेन्ड २ लाख ६२ हजार २ सय ३० क्युसेक पानीको बहाव रहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार पानीको बहाव बढेपछि यसअघि खोलिएका ३१ वटा ढोकामा थप तीनवटा ढोका खोलिएको हो।

कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र नहरतर्फका चारवटा गरी कुल ५६ वटा ढोका छन्। नदीमा पानीको बहाव बढ्दै गएपछि अहिले ३४ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ।

ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि पश्चिमतर्फ, २ लाख क्युसेक नाघेपछि पूर्वतर्फ र ३ लाख क्युसेक नाघेपछि मध्यभागमा समेत रातो बत्ती बाल्ने व्यवस्था रहेको बताइएको छ। हाल बहाव २ लाख ६२ हजार क्युसेकभन्दा बढी पुगेपछि ब्यारेजमा रातो बत्ती र रातो झण्डा राखिएको हो।

पानीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कोशी ब्यारेज कन्ट्रोल रुमले जलस्तरको निरन्तर निगरानी गरिरहेको छ। नदीको जलस्तर बढेपछि सुनसरीका कोशी तटीय तथा जोखिमयुक्त बस्तीमा उच्च सतर्कता अपनाइएको छ।

सम्भावित जोखिमबारे स्थानीयलाई जानकारी गराउन सुरक्षाकर्मीले नदी आसपासका क्षेत्रमा माइकिङसमेत गरिरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन्।

नदीमा बगेर आएका काठदाउरा तथा अन्य सामग्री निकाल्न नदी किनारमा जाने कार्य जोखिमपूर्ण हुन सक्ने भएकाले त्यस्तो काम नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

कोशी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायमै रहेकाले सप्तकोशीको बहाव तत्काल घट्ने अवस्था नरहेको सुरक्षा निकायले जनाएको छ। प्रशासनले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीमा नजान, सुरक्षित स्थानमा रहन तथा जलस्तर र प्रशासनबाट जारी हुने सूचनामा ध्यान दिन आग्रह गरेको छ।