बिर्तामोड– बिर्तामोडमा पटक–पटक विद्युत् अवरुद्ध हुन थालेपछि नेकपा एमाले बिर्तामोड नगर कमिटीले विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ।
नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले शुक्रबार नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख राजमणि बजगाईलाई ध्यानाकर्षणपत्र बुझाउँदै विद्युत् अनियमितताका कारण सर्वसाधारण, विद्यार्थी तथा व्यवसायी प्रभावित भएको बताए।
उनका अनुसार पूर्वसूचनाबिना विद्युत् आउने–जाने गर्दा विद्युतीय उपकरणमा क्षति पुग्नुका साथै विद्यार्थीको अध्ययन र व्यवसाय सञ्चालनमा समेत समस्या भइरहेको छ। विद्युत् अभावका कारण व्यवसायीले जेनेरेटर प्रयोग गर्नुपर्दा अतिरिक्त आर्थिक भारसमेत बढेको उनले बताए।
ध्यानाकर्षणपत्रमार्फत पुराना विद्युत् संरचनाको सुधार, आवश्यक मर्मतसम्भार र विद्युत् अनियमितताको दीर्घकालीन समाधान खोज्न माग गरिएको छ।
प्राधिकरणका अनारमनी वितरण केन्द्र प्रमुख बजगाईले विद्युत् अनियमितताका कारण उपभोक्ताका उपकरणमा क्षति पुग्ने विषय गम्भीर रहेको बताए। उनले समस्या वितरण केन्द्रको मात्र नभई पुराना तथा संरचनागत विद्युत् पूर्वाधारसँग समेत सम्बन्धित रहेको उल्लेख गर्दै आपूर्ति सुधारका लागि आवश्यक पहल भइरहेको जानकारी दिए।










































