बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाअन्तर्गत इकाइगत साधारणसभा सुरु भएको छ। पहिलो चरणमा मोरङको बेलबारी र इलामको फिक्कलमा इकाइगत सभा सम्पन्न भएको संस्थाले जनाएको छ।

साधारणसभाका क्रममा संस्थाले आफ्ना सेवाकेन्द्रअन्तर्गत उत्कृष्ट बचतकर्ता तथा ऋणी सदस्यलाई सम्मानसमेत गरेको छ। विराटचोक, बेलबारी, लेटाङ, रमाइलो, फिक्कल, पशुपतिनगर, श्रीअन्तु, नयाँबजार र हर्कटेसहितका सेवाकेन्द्रबाट उत्कृष्ट एक–एक जना बचतकर्ता र ऋणी गरी १८ जना सदस्यलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको हो।

संस्थाका अनुसार सातवटा इकाइमा सुरु भएको साधारणसभा असोज २० गतेसम्म एउटै कार्यसूचीमा सम्पन्न गरिनेछ भने असोज २३ गते माइन्युट प्रमाणीकरण गरिनेछ। सिम्रिक साकोसले झापा, इलाम, मोरङ र पाँचथरमा ४४ वटा सेवाकेन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थामा हाल ७१ हजार २४६ जना सेयर सदस्य रहेका छन्।

संस्थाको सेयर पुँजी ३७ करोड ३९ लाख ४ हजार ५०० रुपैयाँ पुगेको छ। सदस्यहरूमा २ अर्ब ९२ करोड ५० लाख ५४ हजार ९०१ रुपैयाँ ऋण लगानी गरेको सिम्रिकले ५७ लाख ७ हजार ५०० रुपैयाँ सेयर लगानी गरेको जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै ७४६ जना सदस्यलाई स्वास्थ्य उपचार, प्राकृतिक विपद् राहत, सुत्केरी उपचार तथा मृत्यु राहतलगायतका सामाजिक सुरक्षण कार्यक्रमअन्तर्गत ८२ लाख ८८ हजार ४०७ रुपैयाँ खर्च गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए।

त्यसैगरी ऋणी सदस्यको मृत्यु वा दुर्घटनाका कारण पूर्ण अशक्तता भएमा प्रदान गरिने कर्जा मिनाहा सुविधाअन्तर्गत ४१ जना सदस्यको ५० लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए।

संस्थाका अनुसार इकाइगत साधारणसभाअन्तर्गत बिहीबार पाँचथरको फिदिम र झापाको राजगढमा सभा आयोजना गरिनेछ।