बिर्तामोड : झापाको बिर्तामोड ३ स्थित बिर्ताबजारमा रहेको डोमालाल राजवंशी रंगशालामा एनी बिर्तामोड युनाइटेड इन्डो नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिता हुने भएको छ । 

मंसिर २१ देखि २८ गतेसम्म  प्रतियोगिता गरिने आयोजक बिर्तामोड युनाइटेड एफसीले आज शनिबार पत्रकार सम्मेलन मार्फत जनाएको हो । 

प्रतियोगितामा भारतको १ सहित ८ वटा टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष भुपेन लिम्बूले बताए ।  

झापाली खेलाडीलाई प्रोत्साहन गर्दै फुटबल खेलको गतिविधिलाई चलायमान बनाउनकालागि  प्रतियोगिताको  आयोजना गरिएको आयोजकका सचिव सन्तोष राईले जानकारी दिए । 

उनका अनुसार  प्रतियोगिताको तयारी ८० प्रतिशत पूरा भएको छ ।  प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । 

प्रतियोगितालाई झापाली ब्राण्ड एनी स्पोर्टस्ले प्रायोजन गरेको छ । एनी स्पोर्टस्ले प्रथम पुरस्कार प्रदान गर्ने एनीका सञ्चालक सन्तोष थोप्राले बताए । 

आयोजक टिमलाई एक सेट जर्सी र बल ब्वाइका लागि पनि जर्सी उपलब्ध गराइने उनले बताए ।  प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २ सय २२ र ट्रफी पाउनेछ भने उपविजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउने क्लबका सहकोषाध्यक्ष योगेश गुरुङले बताए ।

यस्तै, विभिन्न विधाका विजेताले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले १५ हजार र उदीयमान खेलाडीले पनि १५ हजार पाउने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ७० प्रतिशत रकम विदेशमा भएका पूर्व खेलाडी तथा शुभेच्छुकहरुले सहयोग गरेका छन् ।


उद्घाटन खेल भारतको जक्सन स्टार एफसीले काठमाडौँको सुनाकोठी सिटीसँग खेल्ने छ । यस्तै, आयोजक क्लबले सुनसरीको पाञ्चायन एफसी, मोरङको डाँगीहाट एफसीले इलामको रेडहर्ष एफसीसँग र धरान सिटी एफसीले पकलीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

स्थानीय दाता र प्रायोजकका तर्फबाट ३० प्रतिशत रकम जुटाइने समेत जनाइएको छ ।   आयोजक क्लबका उपाध्यक्ष रमेश गुरुङका अनुसार क्लबले प्रतियोगिताबाट बचत गरेको रकमको केही अंश क्लबका खेलाडी तथा मिर्गौला पीडित समुन्द्र माझीको उपचारमा खर्च गर्ने निर्णय गरेको पनि जानकारी दिए ।  

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले प्रतियोगिता आयोजनाले खेलाडीमा उत्साह थपेको बताए । 

pic goalll