झापा । कचनकवल गाउँपालिकाले कार्य सञ्चालन निर्देशिका विपरीत जनप्रतिनिधि र कर्मचारीलाई बैठक भत्ता बाँडेको पाइएको छ । गाउँपालिकाको कार्य सञ्चालन निर्देशिका २०७७ मा कानुन बमोजिम गठन भएको समिति वा सञ्चालक समितिको बैठकको लागि कार्यालय समय बाहेकको समयमा सम्पन्न भएको बैठकको मात्र बैठक भत्ता उपलब्ध गराउनुपर्ने र एउटै निकाय र अन्तर्गतको पदाधिकारी वा कर्मचारी मात्र बैठक बसेको भए त्यस्तो बैठकको लागि भत्ता उपलब्ध गराउने छैन भनी उल्लेख गरिएको छ । 

साथै समितिको बैठकमा विषय विज्ञ बाहेकका आमन्त्रित सदस्यको रुपमा सहभागी हुनेहरूले बैठक भत्ता पाउने छैन भनी निर्देशिकामा भनिएको छ । तर, गाउँपालिकाले गत आर्थिक वर्ष २०७९र०८० मा कर्मचारी र पदाधिकारीले बैठक भत्तामा १६ लाख ९१ हजार खर्च गरेको महालेखा परीक्षक कार्यालयको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार गाउँपालिकाले हरेक क्रियाकलाप, कार्यक्रम, दिवस, खरिद कार्य तथा निर्णय गर्न बैठक भत्ता भुक्तानी गर्ने गरेको, बैठक सम्बन्धमा भत्ता दिन मिल्ने अधिकतम सहभागी सङ्ख्या र बैठक भत्ता भुक्तानीका लागि विषय र मापदण्ड तयार नगरेको, बैठकको लागि विनियोजित बजेट बाहेक अन्य विषयगत कार्यक्रमहरूबाट समेत बैठक बसी खर्च गरेको उल्लेख गरिएको छ । 

विभिन्न समिति, शाखा, कार्यक्रम तथा निर्णयको लागि बैठक बसेको हुँदा बैठक सम्बन्धी एकीकृत अभिलेख तयार गर्नुपर्छ र पालिकाले बैठक भत्ता खर्चलाई नियन्त्रण गरी कार्यालय सञ्चालन तथा सार्वजनिक खर्च मितव्ययी बनाउनु पर्नेमा लेखा परीक्षण प्रतिवेदनमा प्रस्ट भनिएको छ ।