शिवसताक्षी
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा झापाको शिवसताक्षी नगरपालिका–४ नयाँ बजारमा तीज मिलन तथा दर खाने कार्यक्रम गरिएको छ ।

_1751853734.jpg)
शिवसताक्षी–४ को आयोजनामा भएको कार्यक्रममा महिलाहरूले गीत–नृत्य, खेलकुद तथा विभिन्न रमाइला गतिविधिमा सहभागी भएर उल्लासपूर्वक तीज मनाए ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नगरप्रमुख मेघाहाङ थोप्राले सम्पूर्ण महिलाहरूप्रति शुभकामना व्यक्त गर्दै तीज पछिल्ला वर्षहरूमा सामूहिक रूपमा मनाउन थालिएकोमा खुशी व्यक्त गरे । उनले घर–घरमा सीमित हुने परम्परा अब सामूहिक उत्सवमा परिणत भएसँगै यसले आपसी सम्बन्ध मजबुत बनाउन मद्दत गरेको बताए । “सामूहिक तीजले एक–अर्काको दुःख–सुख साट्ने अवसर दिन्छ,” नगरप्रमुख थोप्राले बताए ।

_1736908732.jpg)
त्यस्तै, वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले वडाले हरेक वर्ष तीज पर्व विभिन्न स्थानमा आयोजना गर्दै आएको स्मरण गराउँदै, वडाध्यक्ष वडाको अभिभावक भएकाले आमा–दिदीबहिनीलाई दर खुवाउनु आफ्नो जिम्मेवारी भएको बताए । “यस्ता कार्यक्रममा सहभागी भएर एक–अर्काप्रति आत्मीयता र सहिष्णुता अझै प्रगाढ हुन्छ,” बताए ।
कार्यक्रममा वडाभित्रका महिलाहरू छमछमी नाचेका थिए भने विभिन्न खेलहरू खेलाएर मनोरञ्जन प्रदान गरिएको थियो । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश चौधरी, समाजसेवी सम्झना थोप्रा लगायतको उपस्थिति रहेको थियो ।

नेपाली हिन्दु महिलाहरूले मनाउने तीज पर्व धार्मिक आस्था मात्र नभई सामाजिक एकताको प्रतीक मानिन्छ । यस दिन महिलाहरू हरियो चुरा, पोते र रातो पोशाक लगाएर शिव–पार्वतीको पूजा गर्दै व्रत बस्ने परम्परा छ । विवाहित महिलाले पतिको दीर्घायुका लागि र अविवाहित महिलाले योग्य वर पाउनका लागि व्रत बस्ने चलन छ । तीजको अघिल्लो दिन गीत–नृत्यमा रमाइन्छ भने ऋषिपञ्चमीका दिन व्रत सम्पन्न गरिन्छ ।