झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा पुरुषहरूका लागि आधुनिक सौन्दर्य सेवा तथा व्यावसायिक प्रशिक्षणसहितको जाइरो सलुन एण्ड एकेडेमी सञ्चालनमा आएको छ। सलुनको आज एक समारोहबीच अर्जुनधारा–८ का वडाध्यक्ष कुमार उप्रेतीले उद्घाटन गरे।

जोर गणेश कम्प्लेक्सको दोस्रो तल्लामा सञ्चालनमा ल्याइएको सलुनको उद्घाटन गर्दै वडाध्यक्ष उप्रेतीले बदलिँदो जीवनशैलीसँगै सौन्दर्य तथा व्यक्तिगत हेरचाहप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको बताए। उनले आधुनिक प्रविधि र सेवासहितका यस्ता व्यवसायले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै व्यापार–व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ग्राहकलाई गुणस्तरीय हेयर तथा ब्युटी सेवा उपलब्ध गराउने उद्देश्यले सलुन सञ्चालनमा ल्याइएको सञ्चालक प्रतिक भट्टराईले बताए। उनका अनुसार सलुनमा आधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत पुरुषहरूका लागि विभिन्न हेयर तथा ग्रुमिङ सेवा उपलब्ध गराइनेछ।

अर्जुनधारा–७ निवासी २७ वर्षीय भट्टराईले स्थानीयस्तरमै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले शनिश्चरे बजार क्षेत्रकै पहिलो प्रशिक्षण केन्द्रसहितको पुरुष सलुन सञ्चालनमा ल्याएको बताए।

एकेडेमीमा कपाल काट्ने, हेयर स्टाइलिङ तथा मेकअप, ग्रुमिङ र सौन्दर्यसम्बन्धी विभिन्न सीपमूलक तालिम सञ्चालन हुनेछन्। कपालसम्बन्धी एकमहिने बेसिक र दुईमहिने एड्भान्स कोर्ससमेत सञ्चालन गरिने भट्टराईले जानकारी दिए।

निर्माण व्यवसायी सुरेश भट्टराईका छोरा प्रतिकले सलुनसँगै एकेडेमी सञ्चालनमा ल्याइएकाले सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवायुवतीले व्यावसायिक तथा सीपमूलक प्रशिक्षण लिन सक्ने बताए।

उद्घाटन कार्यक्रममा सञ्चालक भट्टराईका हजुरबुबा गंगाप्रसाद, हजुरआमा प्रेमकला, बुबा सुरेश भट्टराई, पत्नी प्रभा घिमिरे भट्टराईलगायतको सहभागिता थियो।

जाइरो सलुन एण्ड एकेडेमीले गुणस्तरीय सेवा, व्यावसायिक दक्षता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्ने जनाएको छ।