जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्युनिकरणकालागि झापामा  सार्वजनिक  सवारीका चालक तथा सहचालकको मादक पदार्थ  मापसे तथा लागु पदार्थ सेवन लापसे चेकजाँचलाई तीव्रता दिएको छ। 

सार्वजनिक सवारीका चालक तथा सहचालकहरूले लागूऔषध तथा मादक पदार्थ सेवन परिक्षणलाई तिब्रदा दिएको हो । यहि क्रममा प्रहरीले शुक्रबार दिउंसो मेचिनगर नम्बर ७ स्थित  प्रनिक पेट्रोल पम्पस्थित पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको हो ।  स्वास्थ्य परीक्षणका क्रममा तीन जनाले विभिन्न प्रकारका लागुऔषध सेवन गरेको पाइएको थियो।

प्रहरीले ३४ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको थियो। तीमध्ये तीन जनामा लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई  थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

बढ्दो सवारी  दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व–पश्चिम राजमार्गमा सञ्चालित यात्रुवाहक सार्वजनिक सवारी साधनहरू बस, म्याजिक भ्यान  लगायतका चालक रसहचालकहरूको  कीटमार्फत स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए । साथै प्रहरीले सवारी साधनहरुको डग स्निफिङद्वारा चेकजाँच गरेको थियो । 

 नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी ,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा तथा ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य परीक्षणमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल काँकरभिट्टा, मेचीनगर आधारभूत अस्पताल धुलावारी, लायन्स क्लब अफ मेचीनगर, विभिन्न यातायात व्यवसायीहरूको उपस्थिति रहेको जनाइएको छ  ।