बिर्तामोड । संविधान दिवसको अवसरमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन्।

‘रक्तदान जीवनदान’ भन्ने मूल सन्देशसहित बिर्ताबजारस्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा ११ जना महिला र ५० जना पुरुषले स्वेच्छिक रक्तदान गरेका हुन्। कार्यक्रम एमाले बिर्तामोड–३ नम्बर वडा कमिटीको सहआयोजनामा सम्पन्न भएको थियो।

814952640_912031961714463_6481988978478628508_n

पछिल्लो समय देखिएको रगत अभावलाई ध्यानमा राख्दै आयोजना गरिएको रक्तदान कार्यक्रमले संविधान दिवसलाई सामाजिक सेवासँग जोडेको छ। रक्तसञ्चारका लागि आवश्यक प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, झापाले गरेको थियो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता टंक उप्रेती प्रमुख अतिथि रहनुभएको थियो। एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुभाष भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कोशी प्रदेश सचिवालय सदस्य तथा पूर्वमन्त्री एकराज कार्की, जिल्ला सचिवालय सदस्य देवराज कार्कीलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो।

बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा कमिटीका सचिव श्री न्यौपानेले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले संविधानले सुनिश्चित गरेका अधिकारसँगै नागरिकको सामाजिक दायित्व र मानवीय सेवाको भावनालाई पनि व्यवहारमा उतार्नुपर्ने धारणा व्यक्त गरेका थिए।

संविधान दिवसको अवसरमा गरिएको रक्तदानले अधिकार र कर्तव्यसँगै मानव सेवाको सन्देश दिएको आयोजकको भनाइ छ।