जिल्ला प्रशासन कार्यालय झापाले जिल्लावासीलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित रूपमा विश्वकर्मा पूजा मनाउन आग्रह गरेको छ।
भाेली असाेज १ गते मनाईने पर्वकाे अवसरमा प्रशासनले वातावरण तथा जनस्वास्थ्यमा असर पर्ने गरी चर्को आवाजमा डिजे, माइक वा साउण्ड सिस्टम नबजाउन तथा पटका, भुइँचम्पा र आतिशबाजीजन्य पदार्थ प्रयोग नगर्न अनुरोध गरेको छ।
त्यस्तै, सार्वजनिक स्थानमा होहल्ला तथा झै–झगडा नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सार्वजनिक शान्तिमा खलल पुग्ने गतिविधि नगर्न झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति मार्फत सचेत गराईएको छ।
पूजास्थल, कलकारखाना, शोरुम तथा सवारीसाधन पूजा गर्ने क्रममा सडक यातायातमा अवरोध नगर्न र मूर्ति विसर्जन गर्दा वातावरणीय स्वच्छताको ख्याल गर्न पनि आग्रह गरिएको छ।
धार्मिक तथा सांस्कृतिक पर्वलाई मर्यादित रूपमा मनाउँदै अनावश्यक खर्च, तडकभडक र भड्किलो प्रदर्शन नगर्न तथा आफ्नो अधिकार प्रयोग गर्दा अरूको हक–अधिकारमा असर नपर्ने गरी पर्व मनाउन प्रशासनले अनुरोध गरेको छ।
सूचनाको उल्लंघन गर्दै अमर्यादित, उच्छृंखल वा गैरकानुनी गतिविधि गरेमा तथा चर्को आवाजमा डिजे बजाएर जनजीवन प्रभावित पारेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय झापाले कडा चेतावनी दिएकाे छ ।










































