बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ इक्यान को ‘इक्यान लिडर्स मिट तेस्रो संस्करण आगामी असोज २ देखि ४ गतेसम्म झापाको बिर्तामोडमा आयोजना हुने भएको छ। कार्यक्रमको आतिथ्य इक्यान झापा शाखाले गर्ने शाखा अध्यक्ष राजकुमार कार्कीले आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिए।
इक्यानको देशव्यापी नेतृत्वलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको लिडर्स मिटको यो तेस्रो संस्करण रहेको बताइएको छट । ‘इक्यानले यसअघि पहिलो संस्करण चितवन र दोस्रो मकवानपुर शाखाको आतिथ्यमा सम्पन्न गरेको थियो। तेस्रो संस्करण आयोजना गर्ने जिम्मेवारी इक्यान झापा शाखालाई दिइएको प्रति अध्यक्ष कार्कीले केन्द्रलाई धन्यवाद दिए । उनल सबैको साथ सहयोग र सहकार्यमा कार्यक्रम सफल बनाइने बताए ।
कार्यक्रममा इक्यान केन्द्र, विभिन्न शाखा तथा समन्वय संरचनाका करिब १ सय ५० जना नेतृत्व तहका प्रतिनिधिको सहभागिता रहने बताइएको छ। नेतृत्व विकास, संस्थागत सुशासन, सञ्चार सीप, वित्तीय व्यवस्थापन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया गरिने इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्कीले जानकारी दिए ।
इक्यानका अनुसार अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा देखिएका बदलिँदा प्रवृत्ति, विद्यार्थी मोबिलिटी, डिजिटल प्रविधि तथा गन्तव्य मुलुकका शिक्षा र अध्यागमन नीतिबारे समेत कार्यक्रममा छलफल हुनेछ। लिडर्स मिटमा ‘ग्लोबल एजुकेशन मोबिलिटी’मा नेपालको भूमिका र सम्भावनाबारे बहस गर्दै छलफलबाट प्राप्त निष्कर्ष समेटेर ‘झापा घोषणापत्र’ जारी गरिने इक्यान झापाका निवर्तमान अध्यक्ष रोशन सुवेदीले बताए।
घोषणापत्रमा विद्यार्थी हित, नैतिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी र नीतिगत सहभागितालगायत विषयलाई प्राथमिकता दिइनेछ।
इक्यानमा हाल ७ सय ५० भन्दा बढी सदस्य संस्था आबद्ध रहेको केन्द्रीय द्वितीय सचिव आशिक कार्कीले जानकारी दिए। लिडर्स मिटले केन्द्र र शाखाबीचको समन्वय तथा संस्थागत नेतृत्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको इक्यान झापा उपाध्यक्ष अशोक भण्डारीले बताए।










































