नेपाल शैक्षिक परामर्श संघ इक्यानको तेस्रो संस्करण ‘इक्यान लिडर्स मिट आजबाट झापाको बिर्तामोडमा शुरु भएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहकाबिच दिप प्रज्वलन गरेर गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले शैक्षिक परामर्श ब्यवसायीहरुलाई कोशी प्रदेशको शैक्षिक गतिविधि विकासमा लाग्न आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले विद्यार्थीलाई विदेशका विश्वविद्यालयमा पठाउने मात्र नभइ नेपालमै विशेषगरी कोशी प्रदेशमा जुनसुकै विषयमा अध्ययनका लागि भित्र्याउने योजनासहित काम गर्न इक्यानमा आबद्ध शैक्षिक संस्थालाई आग्रह गर्दै उनले त्यसकालागि आवश्यक समन्वय र सहयोग गर्न कोशी प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।
\
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले देशभरका शैक्षिक परामर्श ब्यवसायीहरु झापामा भेला भएर कार्यक्रम गरेको भन्दै झापालीको तर्फबाट धन्यवाद दिए । उनले ब्यवसाय प्रतिस्पर्धात्मक हुनुपर्ने साथै स्वच्छ ब्यवसाय भएका कसैले डराउनु नपर्ने उल्लेख गर्दै इक्यानमा आवद्ध ब्यवसायीहरुले राज्यको नियम र कानुनको पालना गर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले केहि शैक्षिक संस्थाहरुको बदमासीका कारण राम्रो छबि भएका संस्थाहरुलाई समेत असर परेको उल्लेख गर्दै त्यस्ता नराम्रो गतिविधि गर्ने र बदमासी गर्ने संस्थाहरु प्रति नागरिक स्तरबाट पनि निगरानी बढाउनु पर्ने बताइन ।
इक्यान झापाको आतिथ्यमा बिर्तामोडस्थित किङ्सबरी होटलमा असोज ४ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा देशभरबाट इक्यानको केन्द्रीय नेतृत्व, शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित करिब १५० प्रतिनिधिको सहभागिता रहेको छ ।
संस्थागत सुदृढीकरण, नेतृत्व विकास, सुशासन तथा नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको आगामी दिशाबारे साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले बताए।
कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, रणनीतिक सोच, वित्तीय व्यवस्थापन, सञ्चार सीप तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया हुने जनाइएको छ ।
विभिन्न प्रदेश तथा जिल्लाबाट आएका इक्यान नेतृत्वबीच अनुभव आदानप्रदान, सफल अभ्यासको साझेदारी, संस्थागत सञ्जाल विस्तार तथा रणनीतिक समन्वयका विषयमा समेत छलफल भइरहेको नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
लिडर्स मिटको मुख्य उपलब्धिका रूपमा ‘झापा घोषणापत्र’ जारी गर्ने तयारी रहेको आयोजकले जनाएको छ । घोषणापत्रमार्फत नेपालको ग्लोबल एजुकेसन मोबिलिटीको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण सार्वजनिक गरिने अध्यक्ष कार्कीको भनाई छ ।
घोषणापत्रमा विद्यार्थी हित, नैतिक व्यावसायिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा सरकारसँगको नीतिगत संवादलगायत विषयलाई प्राथमिकता दिइने समेत उनले जनाएका छन् ।
इक्यानका अनुसार हाल ७५० भन्दा बढी सदस्य संस्थामा आबद्ध छन्। पछिल्लो समय विदेश अध्ययनका लागि नेपाली विद्यार्थीको बढ्दो आकर्षण, गन्तव्य मुलुकका शिक्षा तथा अध्यागमन नीतिमा भइरहेको परिवर्तन र डिजिटल प्रविधिको विस्तारसँगै शैक्षिक परामर्श क्षेत्रसमेत परिवर्तन हुँदै गएको छ। यस्तो अवस्थामा विद्यार्थी र अभिभावकलाई परामर्श दिने भूमिकासँगै अन्तर्राष्ट्रिय शैक्षिक संस्था, सरकार तथा सरोकारवाला निकायबीच जिम्मेवार र विश्वसनीय शैक्षिक सम्बन्ध निर्माणमा संस्थागत भूमिका बढाउनुपर्ने आवश्यकता रहेको इक्यानका निर्वतमान अध्यक्ष शेषराज भट्टराईले बताए ।
अन्तर्राष्ट्रिय शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रको सम्भावना र चुनौतीबारे राष्ट्रिय तहमा बहसको आधार तयार हुने आयोजकको विश्वास छ।
कार्यक्रमले झापासहित कोशी प्रदेशको शैक्षिक क्षेत्रको विकास र अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न जिल्लाका शाखा अध्यक्षहरुले प्रतिवेदनहरु प्रस्तुत गरेका छन् ।
उद्धघाटन समारोह इक्यान को केन्द्रिय अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको् थियो । कार्यक्रममा स्वागत इक्यानका नि वर्तमान अध्यक्ष शेषराज भट्टराईले गरेका थिए । कार्यक्रममा इक्यान द्धतिय उपाध्यक्ष विकल्पराज पोखरेलले मुख्य मन्त्रीसंग बिशेष संवाद गरेका थिए । उनले नेतृत्व, शिक्षा, यात्राका बिषयमा मुख्यमन्त्रीसंग संवाद गरेका थिए ।










































