काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको टनेलमा फेला परेका १३ शवलाई नेपाली सेनाले त्रिशुलीमा ल्याएको छ । सेनाको हेलिकोप्टरबाट आज ती शव ओसारिएको हो । सेनाको विज्ञप्ति अनुसार त्रिशुली–१ को अडिट–३ टनेलभित्र ती शव फेला परेका थिए । खोजी कार्य अझै पनि जारी राखिएको सेनाले जनाएको छ ।

यस्तै, त्रिशूली–३ए को टनेल र पावर हाउस इलाकामा आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ ।

त्रिशूली–२ बी मा नेपाली सेना सहितको संयुक्त टोलीले ३ एक्स एक्साभेटर र लोडरको प्रयोग गरी पावर हाउस भएको स्थानमा उत्खनन गर्दा केही फेला नपरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रभावित क्षेत्र रसुवा र नुवाकोट जिल्लाका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, कालिकास्थान, मान्चेत लगायतका विभिन्न स्थानहरूमा वेश स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको छ ।

साँघुरा टनेलहरूको रेकी, प्रभावित इलाकामा खोज, मूल्याङ्कन र दुर्गम तथा सडक सम्पर्कबाट विच्छेद भएका स्थानहरूमा ड्रोनको प्रयोग गरी राहत सामाग्री ढुवानी गर्ने कार्य गर्दै आइरहेको सेनाले जनाएको छ ।

हालसम्म नेपाली सेनाको ड्रोन मार्फत नुवाकोट र रसुवा जिल्लाको विभिन्न स्थानहरूमा गरी ३१,०९१ के।जी। राहत तथा अत्यावश्यक सामाग्री ढुवानी गरिएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ७ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा काम गरिरहेका छन् ।

नेपाली सेनाको हवाई साधनमार्फत विभिन्न प्रभावित इलाकाहरूबाट हालसम्म जम्मा ४ हजार २२० ९स्वदेशी–३,९३७ र विदेशी–२८३० जनाको उद्धार गरिएको पनि जनाइएको छ ।