बिर्तामोड —
सडकमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण गरी यातायात आवागमन सहज बनाउने उद्देश्यले अनारमनी सोसियल युथ क्लबले बिर्तामोड–३ स्थित यातायात कार्यालय अगाडिको सडक क्षेत्रमा ‘नो पार्किङ’ बोर्ड राखेको छ।
सवारीसाधन जथाभावी पार्किङ गर्दा पैदलयात्री तथा अन्य सवारीको आवागमनमा समस्या हुने गरेको भन्दै क्लबले ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।
क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी प्रमुख अतिथि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष राई विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा इन्जिनियर प्रभास थापा मगर, बिर्ताबजार चौकी व्यवस्थापनका अध्यक्ष बिरेन कोइराला र बिर्ताबजार प्रहरी चौकीका असई नरबहादुर गौतमलगायतको उपस्थिति थियो। सामाजिक उत्तरदायित्व अन्तरगत यो अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष मुखियाले जानकारी दिए ।
वडाध्यक्ष बुढाथोकीले सडक अनुशासन कायम गर्न नागरिक, व्यवसायी, युवा तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको औंल्याएका छन् । ट्राफिक प्रमुख राईले यातायात कार्यालयमा आउने सेवाग्राही तथा सवारी चालकलाई तोकिएको स्थानमा मात्र पार्किङ गर्न आग्रह गरेका छन् ।
नो पार्किङ बोर्ड राखिएपछि उक्त क्षेत्रमा अव्यवस्थित पार्किङ नियन्त्रण भई सडक आवागमन सहज हुने अपेक्षा गरिएको छ। क्लबले आगामी दिनमा पनि प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीय तहसँगको सहकार्यमा सडक सुरक्षा र सामाजिक सचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएको छ।










































