झापा । झापाको अर्जुनधारा–११ स्थित  देउनिया खेल मैदानमा ‘प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। आयोजकले आज अर्जुनधारा ११ नम्बर वडा कार्यालयको सभाहलमा  पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । 

स्थानीय मिलडाँडा युवा क्लब, अर्जुनधारा–११ को आयोजनामा हुने प्रतियोगिता असोज १७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने  मिलडाँडा युवा क्लबको अध्यक्ष नन्दलाल खतिवडाले जानकारी दिए।

अध्यक्ष खतिवडाले  भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने , स्वास्थ्यप्रति जागरुक बन्न, साथै खेलकुदको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताएका हुन् ।  प्रतियोगितामार्फत स्थानीय समुदायमा आपसी भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति समुदायलाई प्रेरित गर्ने लक्ष्यसमेत राखिएको अध्यक्ष खतिवडाको भनाई छ।

WhatsApp Image 2026-09-13 at 10.40.22 (1)

 अर्जुनधारा नगरका नगर प्रमुख बलदेबसिंह गोम्देनले स्थानीय स्तरमा भेट्रान्स खेलाडीको सहभागिता र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताले अर्जुनधारा क्षेत्रमा खेलकुदको वातावरण थप चलायमान बनाउन मद्धत पुग्ने अपेक्षा गरे । पत्रकार सम्मेलनको प्रमुख अतिथि समेत रहेका मेयर गोम्देनले अर्जुनधारा नगर खेकुदको क्षेत्रमा सदैब अगाडि रहेको बताउंदै उनले यस्ता प्रतियोगिताले अनुशासन र स्वस्थ बन्न खेलाडिलाई प्ररित गर्ने बताए । 

त्यसैगरी अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इगंनामले फुटबल प्रतियोगिता सफल बनाउन सबैको साथ सहयोग आवश्यक रहेको औंल्याउंदै उनले आगामी दिनमा वडाले भेट्रान्स नकआउट फुटबल प्रतियोगिताकालागि बजेट समेत छुट्याउने प्रतिबद्धता ब्यक्त गरे । 

प्रतियोगितामा झापाका सात र पाँचथरको एक गरी आठवटा भेट्रान्स फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा भद्रपुर, शिवसताक्षी, मेचीनगर र बिर्तामोड क्षेत्रका भेट्रान्स टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार १११ रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन । त्यस्तै, उपविजेताले ३१ हजार १११ रुपैयाँ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् भने विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई ३ हजार ५०० रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ। प्रथम पुरस्कार एन पेनागं एफ सीका नेत्रनारायण श्रेष्ठले र दोस्रो पुरस्कार बुट्टाबारीका खेलप्रेमी मोसेस खड्काले प्रायोजन गरेको आयोजकले जनाएको छ । 

प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ९० हजार २२२ रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरिएको छ। पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन मिलडाँडा युवा क्लबको सचिव केशब अधिकारीले गरेका थिए । पत्रकार सम्मेलनमा अर्जुनधारा नगर खेलकुदका अध्यक्ष सुरेन्द्र धिमाल, खेलप्रमी भगिरथ आले मामा, क्लबका पदाधिकारी, बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।