काठमाडौं। भारतको प्रयागराजमा २९ पुसदेखि सुरु भएको महाकुम्भ मेलामा हरेक दिन १ करोडका दरले दर्शनार्थी आइरहेका छन् ।
उत्तरप्रदेश सरकारको महाकुम्भ व्यवस्थापन समितिका अनुसार महाकुम्भ सुरु भएको ९ दिनमा ९ करोड तीर्थालु प्रयागराज पुगेका छन् । प्रयागराजस्थित गंगा र यमुना नदी संगमस्थलमा हरेक १२ वर्षमा कुम्भ मेला लाग्ने गर्छ । यमुना नदीमा सरस्वती नदी पनि मिसिएर आउने विश्वास साथ प्रयागराजलाई तीन नदीको संगम अर्थात् त्रिवेणीका रूपमा लिने गरिन्छ ।
हरेक १२ वर्षमा यस ठाउँमा नुहाउँदा पाप नष्ट हुने विश्वास छ । पौराणिक कालमा भएको समुद्र मन्थनबाट निस्केको अमृतको थोपा प्रयागराजमा पनि खसेको विश्वास गरिन्छ । सोही कारण कुम्भ मेलामा यहाँ करोडौं मानिस नुहाउन पुग्ने गर्छन् ।
यो सालको महाकुम्भलाई १ सय ४४ वर्षमा आउने महाकुम्भका रूपमा पनि चित्रित गरिएको छ । सोही कारण यस वर्ष ४५ करोड तीर्थालु यहाँ आउने अपेक्षा भारतको विदेश मन्त्रालय तथा उत्तर प्रदेश सरकारले गरेका छन् ।
तीमध्ये १५ लाख विदेशी पर्यटक महाकुम्भमा सहभागी हुने अपेक्षा भारत सरकारको छ । यसलाई संसारकै सबैभन्दा ठूलो धार्मिक मेला मानिन्छ ।
२९ पुस ९जनवरी १३० मा सुरु भएको महाकुम्भ ४५ दिनसम्म चल्ने छ । सन् २०१९ मा भएको कुम्भ मेलामा २५ करोड मानिस सहभागी भएका थिए । यो मेलालाई एकता र समानताको मञ्चका रूपमा लिइने र विविध संस्कृति र परम्पराका मानिस यसमा सहभागी हुने भारत सरकारले जनाएको छ ।
ब्राजिलको रियो कार्निभल, साउदी अरबको हज र जर्मनीको अक्टोबर फेस्टलाई सबैभन्दा धेरै मानिस सहभागी हुने कार्यक्रम मानिन्छन् । ती मेलामा क्रमशः ७० लाख, २५ लाख र ७२ लाख मानिस सहभागी हुन्छन् । तर, महाकुम्भमा अतुलनीय रूपमा ४५ करोडभन्दा बढी मानिस सहभागी हुने भारत सरकारको भनाइ छ ।
महाकुम्भ मेलाले भारतीय अर्थतन्त्रमा २० खर्ब रुपैयाँ बराबर योगदान गर्ने अपेक्षा गरिएको छ । महाकुम्भकै कारण उत्तर प्रदेशको आर्थिक वृद्धि थप १ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।
यो मेलाका कारण १ खर्ब ७३ अर्ब १० करोड रुपैयाँको दैनिक आवश्यकताको सामान बिक्री हुने तथा होटल एवं ट्राभल क्षेत्रकै व्यापार २८ अर्बको हुने अपेक्षा छ ।
यो मेलामा प्रयोग हुने धार्मिक वस्तुको व्यापार २० अर्बको हुने र फूलको मात्रै ८ अर्बको कारोबार हुने अपक्षा गरिएको छ ।
दैनिक १ करोडभन्दा बढी तीर्थयात्रु व्यवस्थापनमा भारत सरकारले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ ९एआई० प्रयोग गरेको जनाइएको छ । सुरक्षाका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यति ठूलो संख्यामा सहभागी हुने कार्यक्रमको व्यवस्थापन गर्न सक्नु आफैमा आश्चर्यजनक भएको मिडियाले उल्लेख गरेका छन् ।
यो कुम्भ मेला व्यवस्थापन गर्न भारतले ४ हजार हेक्टरमा फैलिएको कृत्रिम सहर नै विकास गरेको छ । बसोबास लगायतमा १ लाख ५० हजार टेन्ट लगाइएको छ, सरसफाइ तथा यातायातको सुदृढ व्यवस्था गरिएको जनाइएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार मन्त्रिपरिषद् बैठक नै महाकुम्भस्थलमा आयोजना गर्दै गरेको जीन्युजले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी ५ फेब्रुअरीमा महाकुम्भ मेला भ्रमण गर्ने सम्भावना रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । २७ जनवरीमा केन्द्रीय गृहमन्त्री अमित शाहले भ्रमण गर्ने कार्यक्रम छ । महाकुम्भमा हरेक दिन केही न केही रोचक घटना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।onlinekhabar.com