अर्जुनधारा, झापाको अर्जुनधारा नगर क्षेत्रमा रहेका नदीजन्य पदार्थको अवैध दोहन हुन थालेपछि सोको नियन्त्रणका लागि नगरपालिकाले कदम चाल्ने भएको छ ।
नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले अवैध नदी दोहन गर्नेलाई कानूनी कारबाही र दोहन रोक्न सहयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ ।


नगरपालिका भएर बहने नदीहरुबाट नदीजन्य पदार्थको उत्खनन् तथा सङ्कलनका लागि कार्यालयबाट ठेक्का बन्दोवस्त नभएसम्म अनाधिकृत तवरले नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन नगर्न नगराउनका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिए ।
“नदीजन्य पदार्थको अनाधिकृत उत्खनन् तथा संकलन नियन्त्रणका लागि स्थानीयबासीहरुले समेत निरन्तर निगरानी गरी सहयोग गरिदिनुहुन अनुरोध गरेका छौं”, उनले भने, “अनाधिकृत उत्खनन् तथा संकलन गर्दा कोशी प्रदेश आर्थिक ऐन, २०८२ तथा अन्य प्रचलित कानून बमोजिम हुने जरिवाना तथा नियन्त्रण गर्न सहयोग गर्नेलाई प्रोत्साहन गर्ने सम्बन्धी कानूनी व्यवस्था समेत जानकारी गराई सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेका छौं ।”

_1736908732.jpg)
अर्जुनधारा नगरपालिका अन्तरगतका बिरिङ, टाङटिङ, नेते, सुखानी लगायतका नदीहरुबाट नदीजन्य पदार्थको उत्खनन् तथा संकलनका लागि यस कार्यालयबाट प्रारम्भिक वातावरणीय परीक्षण लगायतका कार्य भइरहेको र ठेक्का बन्दोवस्त हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । असोज १ गतेदेखि यस कार्यालयबाट अर्को सूचना नभएसम्म अनाधिकृत तवरले कसैले पनि उक्त नदीहरुवाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन नगर्नु नगराउनु सूचना प्रकाशन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले जानकारी दिए ।
सूचनाको बेवास्ता गरी कसैले अनाधिकृत ढंगबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गरेमा त्यस्ता सामाग्री जफत गरी नदीजन्य पदार्थको अनाधिकृत उत्खनन् तथा संकलनको कार्य गरेको सूचना दिनेलाई जरिवाना रकमको १० प्रतिशत प्रदान गरिने उनको भनाई छ ।

यस्ता कार्य गर्ने सवारी साधनलाई पक्राउ गरी बुझाउने व्यक्ति वा संस्थालाई जरिवानाबाट प्राप्त रकमको २५ प्रतिशत रकम पुरस्कार स्वरुप दिइने नगरपालिकाले जनाएको छ ।
उल्लेखित सूचना नजिकको प्रहरी चौकी वा यस नगरपालिकाको नगर प्रहरी मो ९८०१२१५६७१० मा दिन सकिने नगरपालिकाले जनाएको छ ।