सन्तोष न्यौपाने। झापा 

झापामा  ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। जेन जी आन्दोलनका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय संगै मातहतका चेकपोष्ट विस्थापित बनेसँगै ट्राफिक व्यवस्थापन भद्रगोल बनेको हो । राजधानी काठमाडौं सहित झापा लगायत अधिकांश सहरी क्षेत्रको जनजीवन समान्यतर्फ फर्कंदै छ । तर, २३ र २४ भदौको जेनजी प्रदर्शनको असरले झापाको ट्राफिक व्यवस्थापन झनै अस्तव्यस्त बनाएको छ । 

जेनजी प्रदर्शनले सरकार परिवर्तन गराउन सफल भए पनि सर्वसाधारणको पुरानो जीवनशैली फिर्ता हुन समय लाग्ने देखिन्छ । जेनजीका नाममा २४ भदौमा भएको जिल्ला ट्राफिक कार्यालय सहित अन्य चेक पोष्ट तोडफोड र आगजनीले सरकारी सम्पत्ति खण्डहर भएकाले सार्वजनिक सेवा प्रवाह सुचारु हुन समय लाग्ने स्पष्ट छ ।

कार्यालय पूर्ण रुपले धवस्त भएको छ । प्रहरी कर्मचारीले लगाएको पोशाक बाहेक अन्य आफ्ना सामान पनि निकाल्न पाएनन । 

प्रहरी नियमित काममा फर्किन नसक्दा त्यसको प्रत्यक्ष असर झापाको मुख्य शहरमा  सवारी आवागमन जटिल अवस्था पुगेको छ । ट्राफिक प्रहरीको अनउपस्थितले  चालक मनलाग्दी सवारी साधन चलाउँछन्, पार्किङ गर्छन्। 


बिर्तामोडस्थित मुक्तिचोकमा अहिले  ट्राफिक अस्तव्यस्त बनेपछि नागरिक सेवकको अगुवाईले व्यवस्थापन सुरु गरेको छ । नागरिक सेवकसँगै ड्राइभिङ स्कुल एशोसिएसनले ट्राफिक व्यवस्थापन सहज बनाउन सहयोग गरिरहेको हो । ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा यहाँका सडकमा सडक दुर्घटनासँगै यात्रुहरूलाई झन्झटिलो यात्रा हुने गरेको छ। 

ट्राफिक प्रहरी सडकमा उपस्थित  नहुँदा ट्राफिक नियम उंलघन गर्ने सवारीको संख्या बढ्दो छ त्यस्तै  , जथाभावी पार्किङ , तिब्र गतिका कारण दुर्घटनाको जोखिम समेत बढेको छ ।

जेनजीको प्रदर्शनका क्रममा विस्थापित बनेका झापाका १० वटा प्रहरी कार्यालयमा पुनःस्थापित भएका छन् । यही भदौ २३ र २४ गतेको प्रर्दशनपछि जिल्लाका ६९ प्रहरी कार्यालय विस्थापित भएकामा १० वटा पुनःस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।