काठमाडौं — लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधान्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८ : ४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । 

वार्तामा जेन(जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए । अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार र शुक्रबार सघन छलफलमा जुटेका थिए ।

भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन(जीहरूले सुरु गरेको आन्दोलनको बलमा नेपालले पहिलो पटक सरकार प्रमुखमा महिला पाएको हो । जेन(जीले सोमबार गरेको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा धेरै घाइते भएका थिए । मृत्यु हुनेको संख्या अहिले ५१ पुगिसकेको छ ।

आन्दोलनको पहिलो दिन नै अत्यधिक बल प्रयोग गरेपछि मंगलबार देशव्यापी प्रदर्शन भएको थियो । जसमा संसद् भवनदेखि सिंहदरबारसम्म र शीतल निवासदेखि सर्वोच्च अदालत र दर्जनौं निजी कम्पनी, होटल र सार्वजनिक संरचनामा क्षति पुगेको थियो ।