झापा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लापसे (लागूपदार्थ सेवन) र मापसे (मद्यपान) परीक्षणमा कडाइ गरेकाे छ ।
आज बिहिबार झापा दमक ४ ताराबारीमा दमक नगरपालिका र दमक अस्पतालको सहकार्य तथा इ.प्र.का. दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय ,झापा र ट्राफिक कार्यालय दमकको संयुक्त आयोजनामा लापसे र मापसे परिक्षण गरिएकाे हाे ।

सार्वजनिक सवारीका चालक तथा सहचालकहरुको लापसे र मापसे स्वास्थ्य परीक्षण तथा यान्त्रिक चेकजाँच कार्यक्रम गरिएकाे प्रहरीले जनाएकाे छ ।
चालक तथा सहचालकमाथि नियमित रूपमा परीक्षण गर्दै नियम उल्लङ्घन गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

सवारी चालक र सहचालकले लापसे तथा मापसे सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले यसमा विशेष निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक सन्ताेष राईले जानकारी दिए ।
नियम विपरीत लापसे वा मापसे सेवन गरेको पाइएमा कानुन अनुसार जरिवाना, लाइसेन्स निलम्बन तथा अन्य कारबाही गरिने उनले जानकारी दिएका छन्।

चेकजाँचको क्रममा रिपोर्टमा पोजेटिभ देखिएका चालक तथा सहचालकहरुलाई आवश्यक कारबाहिको लागि इ.प्र.का. दमक झापा पठाइको बताइएकाे छ ।
५४ जना चालक तथा सहचालकलाई चेकजाँच गरिएकोमा ३ जना चालक तथा २ जना सहचालकको परीक्षणमा पोजेटिभ देखिएको प्रहरीले जनाएकाे छ । त्यस्तै २ जनामा मापसे समेत फेला परेको थियाे ।
ट्राफिक प्रहरीद्वारा विभिन्न स्थानमा चेकजाँच अभियान सञ्चालन गरी चालकको अवस्था परीक्षण गरिँदै आएको समेत बताईएकाे छ।
यस अभियानले सडक सुरक्षामा सकारात्मक प्रभाव पार्ने र दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ। चालक तथा सहचालकलाई जिम्मेवार भएर सवारी सञ्चालन गर्न पनि झापा ट्राफिकले अनुरोध गरेकाे छ ।









































