बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित निदि माध्यमिक विद्यालय तथा इन्द्रेणी कलेजले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि संस्थाले उक्त रकम सहयोग गरेको हो।
विद्यालयले हिसान झापाको खातामार्फत प्रधानमन्त्री राहत कोषका लागि रकम जम्मा गरेको संस्थापक प्रिन्सिपल रञ्जित शाहले जानकारी दिए।
शाहका अनुसार विपद्को समयमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको हो। उनले विपद्मा परेका नागरिकको सहयोगमा सबै क्षेत्रबाट सक्दो योगदान आवश्यक रहेको बताए।









































