सन्तोष न्यौपाने÷झापा
नेपाली कृषि उत्पादनले भारतीय उत्पादनसंग प्रतिष्पर्धा गर्न सकेको छैन । यस्तै झापामा उत्पादित मकैले बजार नपाउँदा किसान समस्यामा परेका छन् । व्यावसायिक मकै खेती गर्दै आएका किसानले मकैको उचित मूल्य नपाउँदा समस्या भएको हो ।
व्यावसायिक खेती गरेका किसानबाट उत्पादित मकैले उचित मूल्य नपाउँदा उनीहरुलाई समस्या भएको हो । बर्खाको समय सुरु भएकाले उत्पादित मकै पानी परेर कुहिन सक्ने सम्भावना छ ।
जसका कारण उत्पादित मकैको मूल्य आफूहरूले भनेजस्तो नभई व्यापारीको मूल्यमा बेच्नु पर्ने बाध्यता रहेको किसान बोध खरेल बताउंछन् ।
गत वर्ष ३५ सयदेखि चार हजार क्विन्टलका दरले मकै बेचेका किसानले यसपटक २६ सयदेखि देखि २७ सय रुपैयाँ क्विन्टलमा मकै बिक्री गर्नुपरेको अर्का किसान चन्द्रकुमारी आले मागर बताउंछीन ।
विउ विजनको र मल र ज्यालामा भएको वृद्धि एकातिर छ भने उत्पादित मकैले उचित मूल्य नपाउँदा लागत पनि उठन धौधौ पर्ने हो कि भन्ने चिन्ता थपिएको उनी बताउंछिन् ।
अन्य वर्षको भन्दा मकै उत्पादनमा लागत बढी परेको छ । तर मकैको बिक्रीमूल्य भने गत वर्षको भन्दा घटेपछि किसानलाई मर्का परेकोले कृषि ज्ञान केन्द्र झापामा निमित्त प्रमुख साग विष्ट ताउंछन् । उनले पनि ज्ञान केन्द्रको तर्फबाट सक्ने सहयोग गर्दै आएको जनाएको छ ।
गत बर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा २ लाख ७० हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यो बर्ष झापामा ४५ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ ।
झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रले मकै प्रबर्धन कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका झापा गाउंपालिका, कचनकवल, बाह्रदशी गौरिगञ्ज गाउँपालिका र गौरादह नगरपालिका लगायत क्षेत्रमा व्यवासयीक मकै खेती हुंदै आएको छ ।