झापा । विभिन्न खाले हिंसाबाट पीडित महिला तथा बालबालिकाकालागि विभिन्न सेवा निःशुल्क उपलब्ध गराउन प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रले आर्थिक वर्ष २०८१÷०८२ को प्रगति विवरण सार्वजनिक गरेको छ ।
अस्पतालकै सभाहलमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज बसेको बैठकमा आ. व. ०८१÷०८२ को प्रगतिविवरण सार्वजनिक गर्नुका साथै आ. व. ०८२÷०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
केन्द्रले आ. व. ०८१÷०८२ मा १४७ जना हिंसा पीडितहरुलाई विभिन्न खाले सेवा प्रदान गरेको फोकल पर्सन निलुशा शाक्यले जानकारी दिइन् । तीमध्ये १०४ जना जबरजस्ती करणी सम्बन्धी हिंसाका पीडित रहेको पनि शाक्यले बताइन् । यी घटनाका पीडकहरुमा १९ देखि ४९ वर्ष उमेर समूहका रहेको शाक्यको भनाइ छ ।
केन्द्रले स्वास्थ्य तथा चिकित्सकीय सेवा, कानूनी उपचार सेवा, मनोसामाजिक परामर्श र उपचार सेवा सुरक्षित आवास गृह र पुनस्र्थापना सेवामा कामहरु गर्दै आएको केन्द्र प्रमुख डा. मनोज कुमार साहले जानकारी दिए ।
फोकल पर्सन शाक्यले आ. व. ०८१÷०८२ मा केन्द्रले विभिन्न शीर्षकमा ११ लाख ४४ हजार १४२ रुपैयाँ खर्च गरेको बैठकमा जानकारी गराइन् । यस वर्ष सबैभन्दा बढी परामर्श सेवामा चार लाख ५१ ह्जार ४१० रुपैयाँ खर्च भएको प्रगति विवरणमा उल्लेख छ ।
यसैगरी, बैठकमा आ. व. ०८२÷०८३ का लागि १५ लाख ९५ हजार तीन सय रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमाविगत७वर्षदेखि यो कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ ।
केन्द्रको संरचनामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने प्रावधान छ भने अन्य सरोकारवाला सरकारी निकाय एवम् महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको फोकल पर्सन शाक्यले जानकारी दिइन् । यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहने र स्थानीय तहका उपप्रमुख÷उपाध्यक्ष सदस्य रहने सल्लाहकार समिति पनि रहेको शाक्यले् जानकारी दिइन् ।
झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. सञ्जयकुमार गुप्ता लगायतको उपस्थिति रहेको बैठकको सञ्चालन अस्पताल प्रशासन प्रमुख कृष्णा श्रेष्ठले गरेकी थिइन् भने स्वागत केन्द्र प्रमुख डा. साहले गरेका थिए ।
बैठकले आ. व. ०८१÷०८२ को प्रगति प्रतिवेदन र आ. व. ०८२÷०८३ को प्रस्तावित बजेट पारित गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गेलाले समाजमा अझै पनि हिंसा लुकाउने प्रवृत्ति रहेकोले पीडित र पीडकको आंकडा अझ धेरै हुनसक्ने बताउँदै त्यस्ता घटना उजागर गरी पीडितलाई न्याय दिलाउने तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।









































