रौतहट —नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो । 

उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि देखि भर्ना गरिएको थियो ।

पछिल्लो एक सातादेखि आलमको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

आलम निकट कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारको क्रममा ६३ वर्षीय आलमको मृत्यु भएको पुष्टि गरे । ‘पछिल्लो समय उहाँ निकै बिरामी हुनु हुन्थ्यो,’ उनले भने, ‘उपचारकै क्रममा आज निधन भयो ।’

आलमका छोरा डा. राजीक आलमका अनुसार बुवालाई डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । ‘त्यहाँ स्वास्थ्यमा सुधार आए पछि घर ल्याएका थियौं । केही समयपछि स्वास्थ्य अवस्था झनै खराब भयो’ उनले भने ।

गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उनलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज भएका आलमलाई दसैंअघि थप उपचारको लागि भारत लगिएको छोरा डा. राजीकले जानकारी दिए । पुरानै समस्या बल्झिए पछि आलमलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको

सजाय पाएका पूर्वमन्त्री आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहटको फैसला उल्ट्याउदै गएको जेठ १४ गते सफाइ दिएको थियो ।

त्यसलगत्तै उनी नख्खु र भाइ महताब गौर कारागारबाट छुटेका थिए । आलमका दाजुभाइसहित शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका छन् ।

झण्डै ६ वर्ष जेल बसेका आलमलाई नख्खुबाट बाहिरिएको केही दिन मै मस्तिष्कघात भएको थियो ।

जिल्ला अदालत रौतहटका तत्कालीन न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल ईजलासले उनीहरुलाई २०८१ वैशाख १४ गते जन्मकैदको फैसला सुनाएको थियो ।

घटनामा फरार भनिएका मोहम्मद मोबिन, शेख फजले, शेख भदै, साहिल आलम र शेख जुमैको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेका थिए । जन्मकैदको फैसला पछि आलम परिवार जिल्लाको आदेशविरुद्ध उच्च अदालत जनकपुरको वीरगन्ज इजलास पुगेका थिए ।

तत्कालीन कांग्रेस नेता शेख ईद्रिसको राजनिति उर्वर भूमिको रुपमा चित्रण गरिएको रौतहट क्षेत्र नम्बर २ मा आलमले लगातार चुनाव जित्दै आएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा भने आफ्नै भान्जा मुस्ताक राजाले परास्त गरे । २०७४ को संसदीय निर्वाचनमा भान्जा मुस्ताकबाट राजनीतिक विरासत फिर्ता लिए । उनले उक्त क्षेत्रबाट ४ पटक प्रतिनिधित्व गरिसकेका छन् ।

उनको बुवा मोहम्मद सिद्धिकि बेदिल र मजबु नेसाको मृत्यु भइसकेको छ । आलमका दुई दाजु भाई हुन । उनको कान्छो भाई महताब आलम हुन् । महताब गाउँकै जनता माविमा पढाउँथे ।

शिक्षकबाट राजीनामा दिएर महताब पनि राजनीतिमा होमिए । दुई पटक कांग्रेसको जिल्ला सभापतिमा लडेर पराजित भए ।

आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् ।

राजिक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् । आलमले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । उनका काका शेख ईद्रिसको प्रेरणाले उनी राजनीतिमा होमिएका थिए ।

२०३९ सालमा नेविसंघको जिल्ला अध्यक्ष बनेका आलम २०४४ मा कांग्रेस रौतहटको कार्यबाहक सभापति भए । २०४२ सालको सत्याग्रह आन्दोलनमा केही समय गौर जेल बसे ।

२०४५ सालमा कांग्रेसको जिल्ला सभापति बने । काका शेख ईद्रिसको मृत्यु पछि २०५१ सालको उपनिर्वाचनमा आलम पहिलो पटक संसदीय निर्वाचनमा विजयी भएका थिए ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनी २०५४ सालमा श्रम राज्यमन्त्री भए ।

२०५५ सालमा कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आलम वन राज्यमन्त्री भए ।

२०५६ सालको संसदीय निर्वाचनमा पुन: निर्वाचित भएका उनी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भए ।

त्यसपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री बने ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भए । र तत्कालीन एमालेका नेता माधवकुमार नेतृत्वको सरकारमा श्रम तथा यातायात मन्त्री बने । २०६७ सालमा बाराका कांग्रेस नेता फरमुल्लाह मन्सुरीलाई पछि पार्दै पार्टीको केन्द्रीय सदस्यमा जिते । ekantipur.com bata