झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापा क्षेत्र नं. २ बाट ३५ वर्षमुनिका युवा पुरुष क्लस्टरतर्फ विजय लामाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
युवा पुस्ताको आवाजलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्याउने उद्देश्यसहित लामाले आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनले पार्टीभित्र युवाको सक्रिय सहभागिता, नेतृत्व विकास र पुस्तान्तरणलाई प्राथमिकतामा राख्ने बताएका छन्।
लामाले युवालाई संगठनमा सहभागी गराउने मात्र नभई पार्टीका महत्वपूर्ण निर्णय प्रक्रियामा समेत उनीहरूको अर्थपूर्ण भूमिका स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। रोजगारी, उद्यमशीलता, शिक्षा, प्रविधि, अवसरको विस्तार तथा युवा पलायनजस्ता विषयलाई पार्टीको राजनीतिक बहस र नीतिमा प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
त्यस्तै, उनले कांग्रेस संगठनलाई प्रविधिमैत्री, पारदर्शी र गतिशील बनाउँदै स्थानीय तहदेखि केन्द्रसम्म नेता–कार्यकर्ताबीच नियमित संवाद र सुझाव आदानप्रदानको वातावरण निर्माण गर्ने एजेन्डा अघि सारेका छन्।
झापा–२ का युवा तथा पार्टीका स्थानीय कार्यकर्ताका समस्या, सुझाव र अपेक्षालाई महाधिवेशनमार्फत केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
लामाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने अवसरका रूपमा लिएको बताएका छन्। “युवाको आवाज केवल सुन्ने होइन, निर्णय गर्ने ठाउँसम्म पुर्याउने हो,” भन्ने धारणा अघि सार्दै उनले आफूलाई विश्वास गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र मतको अपेक्षा गरेका छन्।
लामाको उम्मेदवारीसँगै झापा–२ मा कांग्रेसभित्र युवा प्रतिनिधित्व, नेतृत्व विकास र पुस्तान्तरणको विषय थप चर्चामा आएको छ।










































