काठमाडौं । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह सम्बन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एस।पी। पवन भट्टराईले बताए ।

‘उहाँले एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय पाउनुभएकोमा भुक्तान गर्नुभएको रहेनछ, त्यसकै लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने । शेर्पा एमालेनिकट आदिवासी जनजाति महासंघका अध्यक्षसमेत हुन् ।

पासाङकी जेठी श्रीमती करिश्माले जिल्ला अदालत काठमाडौँमा शेर्पाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतद्वारा दोषी ठहर शेर्पालाई एक वर्ष कैद र ५ हजार जरिवाना सजाय सुनाइएको थियो । त्यसविरुद्ध उच्च अदालत गुहारेका शेर्पाको पुनरावेदन उच्चले समेत सदर गरेको थियो ।