काठमाण्डौ – अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाण्डौ प्रहरी परिसर र कास्की प्रहरीले छुट्टाछुट्टै सूचनामार्फत् सावधान रहन आग्रह गरेका हुन् ।
प्रहरीले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा त्यो सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको छ ।
अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई ‘ओटीपी’ लिई खाता ह्याक गरी ठगी हुनसक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले साथीभाइ र आफन्तका नामबाट विभिन्न समस्या देखाइ सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेमा प्रत्यक्ष सम्पर्क गरेर यकिन गरेर मात्र सहयोग गर्न भनेको हो ।
अपरिचित व्यक्तिले विदेशबाट उपहार वा बहुमूल्य सामान पठाएको कुरालाई विश्वास नगर्न र सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाएर लगानी गर्न लगाइ ठगी हुने हुँदा सावधानी अपनाउन प्रहरीको आग्रह छ ।
वैदेशिक रोजगारीमा जाँदा भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रूपमा वैदेशिक रोजगारीको कारण खुलाई बैंकमार्फत कारोबार गर्न प्रहरीले भनेको छ । सामाजिक सञ्जाल तथा बैंकिङ एपहरूमा कठिन पासवर्ड राख्न, अपरिचित व्यक्तिहरूसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोगलगायत कुनै पनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिङ्कहरू नखोल्न पनि प्रहरीले भनेको छ ।






































