बिर्तामोड, कात्तिक २३ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् ।

फाइनल खेल भोलि ९सोमबार० दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने, “हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन । यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।”

त्यस्तै, कप्तान अनिता बस्नेतले थपिन्, “हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ । झापाको मैदानमा हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ ।”

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले भने रेखा पौडेल र पूजा राना मगरको तालमेललाई टोलीको मुख्य बल बताउँदै भने, “हाम्रो टोलीमा धेरैपछि रेखा र पूजा सँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यसपटक हामी एपिएफलाई हराउँदै उपाधि जित्नेछौँ ।”

पुलिसकी कप्तान अमृता जैशीले भने विगतका पराजयको बदला झापामै लिने दृढता प्रकट गरिन् । “हामीले विगतमा धेरैपटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक बदला लिँदै ट्रफी लिएर जानेछौँ । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ”, उनले भनिन् ।

एपिएफ क्लब महिला फुटबलमा एक सफल टोली मानिन्छ, यसअघि खेलिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा उनीहरूले उपाधि जितेका छन् । फाइनलमा कहिल्यै हार व्यहोर्नु नपरेको इतिहासले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ ।

त्यस्तै, नेपाल पुलिस क्लब पछिल्लो समय बलियो स्क्वाड निर्माण गर्दै आएको छ । अनुभवी रेखा पौडेल, पूजा राना मगर जस्ता खेलाडीहरूको पुनरागमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ ।

फाइनल खेलमा झापाका फुटबलप्रेमीहरूको ठुलो भीड हुने अनुमान गरिएको छ । भोलि दिउँसो हुने फाइनलमा देशका शीर्ष महिला खेलाडीहरू एउटै मैदानमा भिड्दै गर्दा झापाको दुधे रंगशाला एक निर्णायक क्षणको साक्षी बन्नेछ ।