झापा :  इलाका प्रहरी कार्यालय दमकको कमाण्ड डीएसपी किशोर लम्सालले सम्हालेका छन् । उनले आजबाट कार्यभार सम्हालेका हुन् । उनी जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भएर इलाका प्रहरी कार्यालय दमकमा आएका हुन् । डीएसपी राम तिमल्सिनाको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएपछि लम्साल दमक आएका हुन् । 

उनी २०७४ सालमा जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी निरीक्षकका रुपमा करीब ८ महिना रहेका थिए । उनी मोरंग जिल्लाको सुन्दर हरैंचा निवासी हुन् । पर्सामा कार्यरत रहँदा उनले उत्कृष्ट नेतृत्व, अनुशासन र निडरताका साथ काम गर्दै प्रहरी संगठनभित्र एक इमानदार, कर्मठ र लोकप्रिय अधिकृतका रूपमा पहिचान बनाएका थिए।

उनको कार्यकालमा सुरक्षा संयोजन, अपराध नियन्त्रण र समुदाय–प्रहरी साझेदारीमा उल्लेखनीय सुधार आएको बताउंदै उनलाई बिभिन्न संघ संस्थाले उनलाई सम्मान समेत गरेका थिए । 

उनलाई नजिकबाट चिन्ने सहकर्मीहरूको भनाइमा डीएसपी लम्साल एक शालीन, भद्र र व्यवहारिक नेतृत्व हुन्, जसले संगठनमा अनुशासन र पारदर्शिता कायम गर्न सधैं अग्रसर रहँदै आएका छन्।अपराध अनुसन्धानमा उनको दखल, विवेकशील निर्णय क्षमता र संगठनप्रतिको निष्ठाले उनलाई एक आदर्श प्रहरी अधिकृतका रूपमा चिनाएको सहकर्मीहरुको भनाई छ।