सन्तोष न्यौपाने÷झापा
सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्रयाइने सामानमा सरकारले भन्सार लिन थालेसंगै पूर्वी सीमा कांकरभिट्टा नाका हुंदै भारतीय बजार जानेको सङ्ख्यामा हवात्तै कमी आएको छ ।
एक सयभन्दा बढी मूल्यको मालसामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको भन्सार तिर्न अनिवार्य गरिएसंगै भारत जानेको सङ्रख्या घटेको हो ।
सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न कांकरभिट्टा नाकामा एक सय रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सुचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने उनको दाबी छ ।
जेठ १५ मा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सारले जनाएको छ । सीमावर्ती भारतीय बजार पानी ट्यांकी, नक्सलबाडी र सिलिगुढीबाट किनमेल गरेर आउनेले यसअघि काँकडभिट्टा नाकाबाट भन्सार शुल्क नतिरी घरायसी सामान भित्र्याउँदै आएका थिए ।
तर अहिले घरायसी प्रयोगका लागि ल्याएको थोरै सामानमा पनि कर लगाएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् ।
भन्सारमा कडाइ गर्दा सीमा क्षेत्रका भारतीय बजारमा किनमेल गर्ने प्रवृत्ति निरूत्साहित भई स्वदेशी बजारमा कारोबार बढ्ने अपेक्षा गरिएको पूर्व जनप्रतिनिधि तथा व्यवसायी बिमल आर्चाय बताउंछन् ।
पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकालाई भन्सार शुल्क तिराउन नाकामै जाँचमा कडाइ गर्न थालेका छन् ।
भन्सार र सुरक्षाकर्मीको कडाइपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको सरोकारवाला निकायको भनाई छ । भन्सारले यो नियम लागु भएसंगै एक सय बढीको सामान ल्याउने यात्रुबाट नौ लाख बढी राजश्व संकलन गरेको जनाएको छ ।।