सन्तोष न्यौपाने÷झापा
मुलुकबाट कुल निर्यात घटिरहेका बेला पूर्वी सीमा कांकरभिट्टाबाट स्वदेशी उत्पादन अलैँचीको निर्यात ह्वात्तै बढेको छ । गत आर्थिक २०७९ ÷०८० को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षकोे पहिलो महिनामै अलैंचीको निर्यात ३ सय २२ प्रतिशतले बृद्धि भएको हो ।
मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षकोे साउन महिनामा २२ करोड ८५ लाख ८६ हजार मुल्य बराबरको २ लाख ७७ हजार ८ सय ६९ केजी अलैंची निर्यात भएको थियो । तर यो साउन महिनामा मात्रै ९६ करोड ४६ लाख ५ हजार रुपैंया बराबरको ७ लाख ८८ हजार ७ सय ४० किलो अलैंची निर्यात भएको छ ।
जुन अघिल्लो वर्षको भन्दा मुल्यका हिसाबले ७३ करोड बढी र प्रतिशतका हिसाबले ३ सय २२ बढी रहेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी बताउंछन् । उनले कृषि जन्य बस्तुको निर्यातमा बृद्धि हुंदा बढ्दो ब्यापार घाटा कम हुने बताए ।
हाल निकासी भएको अलैंची गत वर्ष उत्पादन भएको अलैंची हो । अलैंचीको नयां उत्पादन आगामी असोज महिनादेखि निकल्न थाल्छ । उत्पादित अलैंची असोजबाट संकलन तथा प्रशोधन गरी किसानले व्यवसायी मार्फत बिक्री गर्ने गर्छन ।
अधिकांश अलैंची भारततर्फ निकासी हुने गर्दछ । भारतमा उत्पादित अलैंचीले नेपाली बजारमा प्रभाव पर्ने गर्दछ । भारतमा उत्पादन कम भयो भने माग बढ्छ भने भारतमा उत्पादन बढ्यो भने माग कम हुने गर्दछ ।
जसले गर्दा नेपालमा प्रत्यक्ष असर किसानसंगै व्यवसायीलाई पर्ने गरेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई बताउँछन् । उनले तर यस पटकको उत्पादन भने घट्ने बताए । अलैंचीकालागि सिंचाईको अभाव संगै बिभिन्न रोगले नयां उत्पादन घट्ने उनले बताए ।
अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादित २ प्रतिशत अलैंची मात्रै आन्तरिक खपत हुने गरेको महासंघको भनाई छ ।