संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । मंगलबार विहान निधन भएका नेम्वाङको शव पहिलो दिन पार्टी कार्यालय च्यासल ललितपुरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

दोस्रो दिन बुधबार बालुवाटारस्थित निवासमा राखेर किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिएपछि बिहीबार शवयात्रा निकालिएको थियो ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो । उनको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पु¥याइएको थियो ।

आर्यघाटमा नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरे । यस्तै, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरूले नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा सुहाङले दागबत्ती दिएका छन । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो ।

श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो । नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो । मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो । उनले संबिधान जारी गर्न खेलेको भूमिका अतुलनीय मानिन्छ । सरकारले नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिएको थियो ।