सदस्यलाई कृषि र पशुपालनमा जोड्दै उत्पादन र बजारीकरणमा सहयोग पु¥याइरहेको दाबी गर्दै आएको झापाको कांकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी (एनएमसी)ले  आफ्नै सदस्य किसानले उत्पादन गरेको मह किन्न मुल्यको बार्गेनिङ गरेको खुल्न आएको छ । 

मेचिनगरमा केन्द्रिय कार्यालय रहि जिल्लाका बिभिन्न क्षेत्रबाट सेवा प्रवाह गर्दै आएको सहकारीले सदस्य किसानको उत्पादनमा मोलमोलाई गरेको हो । सहकारीले मेचिनगर, बिर्तामोड, सुरुङ्गा लगायतका क्षेत्रमा एनएमसी सहकारी पसल समेत सञ्चालन गर्दै आएको छ । सहकारीको सदस्यले नै उत्पादन गरेको मह किन्न भने एनएमसीले दलाली गरेको हो । 

झापा कनकाई नगरपालिका ४ का भुवन अधिकारी र देवि नारायण अधिकारीले २४ बर्षदेखि व्यावसायिक मौरी पालन गरिरहेका छन् ।  

भारतको पञ्जावमा ७ बर्षसम्म  मौरीपालनको क्षेत्रमा रोजगारी गरेर नेपाल फर्किएपछि उनीहरु दाजुभाईले नेपालमै आएर मौरी पालन गर्न थालेका हुन् । 

२०५५ सालदेखि २२ गोलाबाट सुरु गरेको मौरीपालन अहिले आएर १ हजार गोलामा पुगेको छ ।  अधिकारी परिवारले मौरीपालेरै छोराछोरीको शिक्षा दिक्षा र घर खर्चको  जोहो मात्रै नभएर केहि रकम समेत बचत गर्दै आएका छन् । तर  पछिल्लो समय अधिकारी परिवार मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा समस्या भएको उनीहरु बताउंछन् । 

अहिले तोरीको सिजन भएकोले दैनिकजसो मह काढ्न उनीहरुलाई भ्याई नभ्याई छ । तर उत्पादित महले उचित बजार नपाउंदा  अहिले अधिकारी दाजुभाईको घरमा १ हजार केजीभन्दा वढी जम्मा भएको छ । 

‘म एनएमसी सहकारीको सदस्य हो, तर मैले उत्पादन गरेको महलाई उहांहरुले २ सय ५० प्रतिकेजी भन्दा बढी मुल्य दिन नसकिने बताएपछि एनएमसीलाई मह बेचिन, कृष्ण अधिकारीले भने, शेयरसदस्यलाई बजारीकरणमा सहयोग गर्नुको साटो  सहकारीले भने भारतबाट आयत हुने डाबरको मह विक्री गर्दै आएको छ । ’

उनले एनएमसीका कर्मचारीसंग पटक पटक छलफलमा बसे पनि प्रतिकिलो २ सय ५० ले दिए मात्र खरिद गर्ने सहकारीले बताए पछि आफुले सहकारीलाई मह नदिएको उनको भनाई छ । 

सहकारीले सञ्चालन गर्दै आएको एनएमसीले पसलमा भने किसानबाटै खरिद गरिएको मह प्रतिकिलो ८ सय रुपैंयामा बिक्रि गर्ने गरेको छ । 

सदस्यलाई कृषि र पशुपालनमा जोड्दै उत्पादन र बजारीकरणमा सहयोग पु¥याउन खुलेका सहकारीको साथ समेत नपाउंदा आफुहरुलाई दुःख लागेको अर्का सहकारीको सदस्य किसान देबीनारायण अधिकारी बताउंछन् । 

स्थानीय उत्पादनलाई प्रवद्धन गर्दै कृषि र पशुपालनमा युवाको आकर्षण बढाउने भन्दै खुलेका एनएमसी जस्ता सहकारीहरुको कार्यशैली उद्धेश्यअनुरुप नहुदा अधिकारी दाजुभाईजस्ता स्थानीय स्तरमै केहि गरौ भन्ने युवाको आत्मवल त घटेको छ नै कृषि र पशुपालनमा सम्भावना हुंदा हुंदै पनि बजारीकरणको समस्याले पेशाबाटै पलायन हुने स्थिति देखिएको छ ।  ऋण प्रवाह गर्ने र सदस्य किसानको उत्पादन र बजारीकरणमा सहयोग नगर्ने  यस्ता सहकारीका कारण धेरै किसानहरु मर्कामा परेका छन् ।