झापाको बिर्तामोड नगरपालिका–७ स्थित सहिद नेत्रपार्क खेल मैदानमा वडास्तरीय टि–१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

खेलकुद विकास समिति बिर्तामोड नगरपालिका–७ को आयोजनामा यही जेठ २४ र २५ गते वडास्तरीय टि–१० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

खेलकुद विकास समिति बिर्तामोड–७ का अध्यक्ष दीपक कार्कीको अध्यक्षता एवम् वडाध्यक्ष अविरलकृष्ण खरेलको प्रमुख आतिथ्यमा आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिनुहुँदै आयोजक समितिका विपिन कार्कीले क्रिकेट खेलको प्रवद्र्धनका साथै नगर क्षेत्रमा सम्भावना बोकेका खेलाडीहरूको पहिचान र प्रवर्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 

प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीलाई पुरस्कृत समेत गरिने जनाइएको छ ।

WhatsApp Image 2026-06-05 at 20.10.18 (1)

पत्रकार सम्मेलनमा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि वडाध्यक्ष खरेलले बिर्तामोड नगरपालिकाले खेलकुद क्षेत्रको प्रवद्र्धन गर्न विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । अन्य खेलकुदको विधाभन्दा क्रिकेट प्रतियोगिता न्यून मात्रामा भएकाले खेलकुद विकास समिति वडा नम्बर ७ ले क्रिकेट खेललाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

वडामा रहेको केही बजेट र विभिन्न दाताहरूको सहयोगबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक रहेकाले सहयोग गरिदिन उहाँले आग्रह समेत गर्नुभएको छ ।

पत्रकार सम्मेलनका विशेष अतिथि सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद लिम्बूले खेलकुद समितिको आग्रहलाई स्वीकार्दै वन समूहको तर्फबाट दोस्रो पुरस्कारको सौजन्य गरिएको बताउनुभयो । स्थानीयस्तमा हुने यस प्रकारका प्रतियोगिताबाटै राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन हुने भएकाले प्रतियोगिता सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि बिर्तामोड नगरपालिका, बिर्तामोड–७ को वडा कार्यालय, विभिन्न दाता एवम् व्यावसायिक प्रतिष्ठानले सहयोग गरेको खेलकुद समितिका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

टि–१० क्रिकेट प्रतियोगिता म्याट ओछ्याएर टेनिस बलले खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । पत्रकार सम्मेलनको सहजीकरण सरोज न्यौपानेले गर्नुभएको थियो ।