बिर्तामोड–३ मा अवस्थित लिङ्कन मन्टेस्वरी स्कुलको आयोजनामा सुरु गरिएको पाँचदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम आज शुक्रबार सम्पन्न भएको छ
“आफ्नो आवाज, आफ्नो आत्मविश्वास ः सफलतातर्फको पहिलो कदम” भन्ने मूल नाराका साथ गत जेठ १८ गतेदेखि सुरु भएको तालिम आज समापन भएको हो ।
आदर्श अफ म्यानेजमेन्ट स्कुलको प्राङ्गणमा सम्पन्न भएको तालिमको सहजीकरण नारी सञ्चार गृह झापाले गरेको हो । तालिममा बिर्तामोडका सात वटा विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।
शिक्षकहरूमा उद्घोषण कला, नेतृत्व क्षमता तथा व्यक्तित्व विकास अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिङ्कन मन्टेस्वरी स्कुलका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।
तालिममा उद्घोषण कला, मञ्च सञ्चालन, प्रस्तुतीकरण सीप, आत्मविश्वास विकास, सञ्चारकला तथा व्यक्तित्व विकासका विविध विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

उक्त तालिममा नारि सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, उपाध्यक्ष जोस्ना श्रेष्ठ, पुर्व अध्यक्ष भीमा शिवाकोटी सचिव दीपा पोखरेल लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।
समापन समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी रहेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा , कन्चनजङ्गा स्कुलका प्रधानाध्यापक डाक्टर केशब न्यौपाने , प्याब्सन बिर्तामोड नगर कमिटी सचीव दिपाङ्कर मैनाली ,सह कोषाध्यक्ष दिपक चौलागाईं विद्यालय सञ्चालक तथा कार्यक्रम संयोजक सरोज पौडेल तथा विभिन्न संघ संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले प्रभावकारी सञ्चार र आत्मविश्वास शिक्षक तथा विद्यार्थी दुवैका लागि अत्यावश्यक भएको बताउँदै यस्ता तालिमले व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखेका थिए ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओझाले शिक्षकहरूको क्षमता अभिवृद्धि तथा शैक्षिक गुणस्तर सुधारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।
समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । आयोजकले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।










































