जिल्ला प्रहरी कार्यालय झापाले डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापा जिल्लामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको जनाएको छ।

आर्थिक वर्ष २०८२र८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी ३७३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार  तीमध्ये २७० वटा मुद्दा फछ्र्योट भएका छन् भने १०३ वटा मुद्दा अझै अनुसन्धानकै क्रममा छन्।

यी घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना फरार रहेका छन्। प्रबिधिको विकाससंगै बित्तिय अपराध बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । उनले बिज्ञानको प्रबिधिको विकासको सहि सदुपयोग गर्दा फाइदा भएको छ तर गलत प्रयोगले बिदेशमा बसेर मोवाइलमा भएको पैसा बिभिन्न स्काम्प मार्फत टन्सफोर गर्ने लगायतका ठगि बढ्दै गएको बताउंछन् । उनले सजग भएर सामाजिक सञ्जाल तथा प्रबिधिको सहि सदुपयोग गर्न सबैलाई उनी आग्रह गर्छन । 

्उनले यस्ता घटनामा फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्र बनाइएको जानकारी दिए । उनका अनुसार प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने प्रवृत्ति तथा आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेका छन्।

प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका २९४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २२० वटा फछ्र्योट भएका छन् भने ७४ वटा अनुसन्धानकै क्रममा छन्।

त्यसैगरी, ठगीका ६५ वटा मुद्दा मध्ये ४० वटा फछ्र्योट भएका छन् भने २५ वटा बाँकी छन्। आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दा मध्ये आठ वटा फछ्र्योट भएका छन् भने चार वटा अनुसन्धानमा छन्। अनलाइन सट्टेबाजीसम्बन्धी दुईवटा मुद्दा दर्ता भएकामा दुवै फछ्र्योट भइसकेका छन्।

प्रहरीका अनुसार पछिल्लो समय बैंक खाता, ओटीपी, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण दुरुपयोग गरी बैंकिङ ठगी गर्ने, अनलाइन किनमेल, चिठ्ठा परेको, घरबाटै काम गरेर धेरै आम्दानी हुनेजस्ता प्रलोभन देखाएर ठगी गर्ने घटना बढिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले  अनलाइन भुक्तानी तथा डिजिटल कारोबार गर्दा व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित लिङ्क वा सन्देशमा विश्वास नगर्न तथा छिटो धेरै आम्दानी हुने प्रलोभनबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।