बिर्तामोड : पहिला–पहिला मर्दको शानको रुपमा जुँगालाई लिइन्थ्यो । जुँगा नभएकालाई ‘नामर्द’ भनेर पनि खिसीट्युरी गरिन्थ्यो । पछिल्लो समय जुँगा पालेको कमै देखिन्छ । अहिले जुँगा–दाह्री पाल्ने भन्दा सफाचट बनाएर काट्ने चलन बढेको छ । जुँगा पाले पनि नयाँ डिजाइन र स्टाइलिस बनाउने गरिन्छ । तर, उहिलेपहिलेजस्तो भने जुँगा पाल्ने चलन हराउँदै गएको छ ।
तर, झापा बिर्तामोड नगरपालिका–१० शिवालय चोकका ४४ वर्षीय मेदनीप्रसाद उप्रेती जुँगाको सोखिन् छन् । पाँच वर्षयता उनले जुँगाको स्याहार गर्दै आएका छन् । जसको परिणाम अहिले उनको जुँगा १३ इञ्च लामो भएको छ । जुँगा पालेर रेकर्ड राख्ने सोच उनको छ । हराउँदै गएको जुँगा पाल्ने मोहलाई जीवन्त राख्न आफू लागि परेको उप्रेतीको भनाइ छ ।
“हरेक दिन बिहान झण्डै आधा घण्टा खर्चिन्छु”, उनी भन्छन्, “जुँगा पाल्नु भनेको छोरा–छोरी हुर्काउनु जस्तै हो । यो जुँगा बनाउन मैले धेरै समय खर्चिएको छु ।”
उनले जुँगामा स्याम्पू र कन्डीसनर प्रयोग गर्ने उप्रेतीले १३ वर्षदेखि जुँगामा ब्लेड लगाएका छैनन् । आफ्नो जुँगाको प्रसंसा गर्दा उनी हषिर्त हुन्छन् रे । सुरुमा कीर्तिमान राख्ने उद्देश्य नरहे पनि बिस्तारै कीर्तिमान राख्ने इच्छा जागेको उनले सुनाए ।
पेशाले उनी मेकानिक हुन् । बिर्तामोड–४ स्थित पुरानो भद्रपुर रोडमा उनको मोटर साइकल वकसर्प छ । उनको जुंगा देखेर अधिकांश मानिस छक्क परेर हेर्छन् । उनी नेपालीहरुको जुँगा शान भएको बताउँछन् । उनको जुँगा मात्र होइन टुप्पी पनि १४ इञ्च भन्दा बढी लामो छ ।
इतिहासमा तानाशाहदेखि क्रान्तिकारी, नेता, अभिनेता, वैज्ञानिक, खेलाडीले आकर्षक जुँगा पालेको देखिन्छ । जर्मन तानाशाह हिटलर, भारत आजादमा जुटेका भगतसिंह, महाराना प्रताप, रनवीर सिंहलगायतको जुँगा पनि कुनै समय निकै चर्चामा थियो । इस्ट इन्डिया कम्पनीमा कार्यरत कर्मचारीहरूले जुँगालाई लामो, बाक्लो र कडा पार्न मैन प्रयोग गर्थे । यिनै परिवेशबाट मधेसमा पनि पुरुषहरूले लामा–लामा जुँगा राख्न थालेको हुन सक्छ ।