झापा :  लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित मेचिपुल क्षेत्रबाट खैरो हेरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।


प्रहरीका आज साँझ ५ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–३ निवासी २७ वर्षीय राम बहादुर तामाङलाई शंका लागेर चेकजाँच गरिएको थियो।

जाँचका क्रममा तामाङको साथबाट खैरो हेरोइन जस्तो देखिने लिसिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम तथा प्लास्टिक हटाएर १७ ग्राम २०० मिलिग्राम लागुऔषध रहेको पुष्टि भएको छ। तामाङलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।


प्रहरीले यस घटनालाई अन्तरदेशीय लागुऔषध तस्करीको आशंका गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।