बिर्तामोड । सुनसरी स्थित इलाका प्रहरी कार्यालय हरिनगरका प्रहरी नायव निरीक्षक राजेन्द्र चौहान सम्मानित भएका छन् ।

इलाका प्रहरी कार्यालय हरिनगरको नेतृत्व सम्हालेको चार महिनामा समुदायसंगको साझेदारीमा भगवतीको मन्दिर निर्माण गर्न सफल भएको भन्दै कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्र कुवेर खापुङले सम्मान गरेका हुन् ।

प्रहरीको श्रम तथा दाताहरुको सहयोगमा निर्माण भएको भगवती मन्दिरको उद्घाटन गर्दै डीआईजी खापुङले प्रहरी नायव निरीक्षक चौहानलाई सम्मान गरेका हुन् । नेपाल प्रहरी समुदायका हरेक नागरिकसंग हातेमालो गर्दै समाजमा सकारात्मक काममा अघि बढ्ने भएकाले मन्दिर निर्माणमा स्थानीयले गरेको सहयोगको डीआईजी खापुङले प्रशंसा गरेका थिए ।

अपराध नियन्त्रण गर्दै सामाजमा सकारात्मक काम गर्ने प्रहरीको मनोबल उच्च राख्न पनि यस्ता सम्मान आवश्यक भएको भन्दै उनले चार महिनामा नै सबैसंगको सहकार्यमा मनिदर निर्माण गर्न सफल भएकाले प्रहरी नायव निरीक्षक चौहानलाई सम्मान गरेको उल्लेख गरे ।

अपराध अनुसन्धानमा अब्बल रहेका चौहानले समुदायसंगको साझेदारीमा गरेको कामको मुल्याङ्कन प्रदेश प्रहरीबाट भएको भनदै खुशी ब्यक्त गरे । उनले आगामी दिनमा अझ धेरै जिम्मेवारी थपिएको उल्लेख गरे ।

सुनसरी प्रहरी प्रहरी उपरीक्षक प्रमुख बिपिन रेग्मी, प्रहरी निरीक्षक महेश भट्टराई लगायतको सहयोग तथा समन्व्यमा मन्दिर निर्माणमा सहजता भएको भन्दै जिल्ला प्रहरीका उच्च नेतृत्वको निर्देशन अनुसार आफुहरुले काम गरेको प्रहरी नायव निरीक्षक चौहानको भनाई छ । उनले आफुलाई हरेक क्षेत्रमा उच्च नेतृत्वबाट सहयोग भएको भन्दै धन्यवाद दिए ।