सन्तोष न्यौपाने÷झापा 

झापामा भारतबाट तस्करीको माध्यमबाट माछा भित्रिने क्रम अझै रोकिएको छैन ।  जिल्लामा अहिले पनि निर्वाध रुपमा माछा तस्करी भइरहेको छ । 

खुला सीमाको फाइदा उठाउंदै  भारतीय माछाको जिल्लाका बिभिन्न बजारमा खुलमखुल्ला कारोबार भइरहेको हो ।   झापाको झापा गाउंपालिका स्थित डिगल बैंक नाका र भद्रपुर , केचना , पाठामारी, कांकरभिट्टा सहितका मुख्य नाका तथा गौंडा आसपासबाट निर्वाध रुपमा माछा तस्करी भइरहेको हो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएका घुमुवा देखि इलाका प्रहरी कार्यालय तथा स्थानीय चौकीमा कार्यरत प्रहरीको सेटिङ र संरक्षणमा राति मात्रै नभएर दिउँसो पनि खुलेयाम माछा तस्करी भइरहेको स्रोतको भनाई छ ।   

पछिल्लो केहि बर्षदेखि माछा तस्करी मौलाएको स्थानीय  बताउँछन् । स्थानीयका अनुसार तस्करहरूले प्रहरीसँगको मिलेमतोमा सीमा नाकाबाट माछा पार गराउँछन् ।

झापा गाउंपालिकाका  स्थानीय बसन्त मुखिया, बिक्कु मुखीया, मुकेश मुखिया र कृष्ण मुखियाले प्रहरीको सेटीङ्मा  भारतीय माछा भित्रयाउंछन् । उनीहरुले दैनिक ४ सय केजी हाराहारी माछा ल्याउने गरेका छन् । स्रोतका अनुसार एकै घरका  मुखिया परिवारले धेरै बर्षदेखि प्रहरीको सेटिङमा माछाको कारोबार गर्दै आएका छन् । उनीहरुले झापा गाउंपालिकाको बिभिन्न नाका हुंदै मोटरसाइकलमा ल्याइएको माछा सुरुङ्गा , दमक र बिर्तामोड सम्म पु¥याउने गरेका छन् । 

उनीहरुले प्रत्येक शसस्त्र प्रहरीको बिओपी र जनपथ प्रहरीको इन्चार्जलाई मिलाएर माछा ल्याउने गरेको बताइन्छ । साझा अनलाइनको टिमले कारोबारी मध्येका मुकेश मुखियासंग आफुहरु व्यापारी भएको बताउंदै माछा किन्ने बताएपछि भेट्न आए । उनलाई आफुहरु व्यापारी भएको र दैनिक १ सय बढी केजी माछा आवश्यक रहेको बताएपछि भेट्न आएका थिए । उनले माछा नेपाल छिराउन केहि समस्या नरहेको बताए ।

उनले प्रहरीसंगको सेटीङमा आफुहरु माछा ल्याउने गरेको बताए । उनले दक्षिणी कुमरखोद, टाघनडुब्बा, राजगढ, शरणामती, कुटी, पन्थापाडा, घैलाडुब्बा सहितका प्रहरी कार्यालयका इन्चार्ज र जिल्लाका घुमुवासंग सेटीङमा दैनिक ३ वटा मोटरसाइकलमा माछा ओसारीने बताए । उनले प्रहरीसंग सेटीङ मिलाउने काम आफ्नो भाई बसन्त मुखियाले गर्ने बताएका छन् । उनीहरुको भरीया मात्र ४ जना छन् ।

उनीहरुका काका कृष्ण मुखिया पनि बषौंदेखि लाइन मिलाएर माछाको कारोबार गर्दै आएका छन् । कारोबारी मुकेश र बसन्तले माछा सेटिङमा कसरी भित्र्याइन्छ भन्ने बिषयमा गरेको  कुराकानीको अडियो साझा अनलाइनसंग सुरक्षित छ ।

भारतबाट तस्करी गरिएको शव नसड्न प्रयोग गरिने (फर्मालिन) हालिएका पंगास, लगायतका माछा उपभोक्ताका घर तथा होटल, रेष्टुरेन्टहरुमा सजिलैसँग पुग्दै आएको छ । 

झापा जिल्लासँग जोडिएका काँकरभिट्टा, भद्रपुर, लसुना, खजुरगाछी लगायतका सीमा नाकाहरु गत बुधबार १० दिन अघि साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिए ।   तर नाका बन्द भए पनि सुरक्षाकर्मीकै संरक्षण र सेटिङमा भारतीय माछा तस्करी भने भयो । 

 भारतमा गत बैशाख १४ गते भएको  दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाकाहरु बन्द गरिएको थियो । 

बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत स्थानीय प्रशसानले निषेध गरेको थियो ।    तर प्रहरीको संरक्षणमा भारतीय माछाको तस्करी भएको स्रोतको जनाएको छ ।  बर्षौंदेखि यो मुख्य नाका सहित अन्य  गौंडा गौंडामा सुरक्षाकर्मीको सेटिङमा भारतीय माछाको तस्करी मौलाएको हो । 

विषादी परीक्षण र सरकारले तोकेको मापदण्ड पुरा नगरी  माछा र माछाको भुरा नेपाल भित्राउन नपाउने 

 पशु क्वारेनटाइन कार्यालय कांकरभिट्टाका प्रमुख डा. मुकेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार नेपालमा पंगास र मागुर सहितको भुरामाथि सरकारले नै प्रतिबन्ध लगाएको छ । 

‘यी दुवै भुरालाई कानुनी प्रक्रिया पूरा गरी पनि नेपाल भित्राउन पाइँदैन,’ उनले भने, ‘त्यसैले कारोबारीले अवैध बाटो प्रयोग गरी भुरा भित्राउन खोज्छन् ।’ ‘छिटो उत्पादन हुने र एउटा मात्र ठूलो काँडा हुने पंगास माछाको झापा र इलामका माछा पोखरीमा यसको माग बढ्दो छ, यो पश्चिम बङ्गालमा उत्पादन हुन्छ,’ उनले भने । अहिले यी दुवै जिल्लाका माछा पोखरीहरूमा पंगास माछा नै बढी मात्रामा उत्पादन भइरहेको उनको भनाई छ ।

पशु क्वारेनटाइन कार्यालय सिंहका अनुसार केहि बर्ष यता भारतबाट माछा तथा भुरा आयात न्यून छ । बिगत दुई बर्षदेखि त माछा आयात ठप्प जस्तै छ । तर बजारमा खुलेआम भारतीय माछाको बिक्री भइरहेको छ । सरकारले तोकेको मापदण्ड पुरा गरेर कुनै पनि व्यवसायीले माछा आयात नगरेको उनको भनाई छ । लामो प्रक्रिया र बिभिन्न कागजात पुरा गरेपछि मात्र माछा आयात गर्न मिल्ने उनको भनाई छ ।

तर अहिले जिल्लाका अधिकांश बजारमा भारतीय माछा रहेको उनी स्वंम स्विकार गर्छन् । उनले आफुहरुले बेला बेलामा माछा नियन्त्रणमा लिई नष्ट गर्ने गरेको बताउंछन् । अहिले स्थानीय तहले अनुगमन र नियन्त्रण गर्नु पर्ने भए पनि त्यो गरेको पाइंदैन । केहि स्थानीयतहले पनि कहिले कांहि तस्करीको माध्यबाट नेपाल भित्र्याएको माछा नियन्त्रणमा लिएर नष्ट गरेको जनाएका छन् । 

भारतीय माछाको तस्करी मौलाउँदै गएपछि  जिल्लामा नेपाली किसानले पालेका माछाले उचित बजार मूल्य पाउन सकेका छैनन् । जसका कारण आफुहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।